टेस्ट क्रिकेट

तेस्रो टेस्टमा अस्ट्रेलिया विजयी

काठमाडाैं । घरेलु टोली भारतविरुद्धको तेस्रो टेस्टमा अस्ट्रेलियाले नौ विकेटको सहज जित निकालेको छ ।

अस्ट्रेलियाको यो जितसँगै चार टेस्टको शृंखला २-१ को अवस्थामा पुगेको छ ।  भारत पहिलो टेस्टमा एक इनिङ र एक सय ३२ रन तथा दोस्रो टेस्टमा ६ विकेटले विजयी भएको थियो ।

इन्दोरस्थित होल्कर क्रिकेट स्टेडियममा भारतले प्रस्तुत गरेको ७६ रनको लक्ष्य पछ्याउँदै तेस्रो दिन ब्याटिङ थालेको अस्ट्रेलियाले एक विकेट गुमाउँदै भेट्टायो ।

अस्ट्रेलियाका लागि ट्रेभिस भिस हेडले ५३ बलमा ६ चौका र एक छक्का मद्दमा अविजित ४८ रन जोडे । यसैगरी मार्नुस लाबुसानेले अविजित २८ रन बनाए ।

दोस्रो विकेटका लागि हेड र लाबुसेनले ७८ रनको साझेदारी गरेका थिए । ओपनर अस्मान ख्वाजा भने रनको खाता नै नखोली आउट भए ।

भारतका लागि एक मात्र विकेट रविचन्द्रन आश्विनले लिए ।

दोस्रो इनिङमा भारत एक सय ६३ रनमै सेटिएपछि अस्ट्रेलियाले ७६ रनको समान्य लक्ष्य प्राप्त गरेको थियो ।

भारतका लागि चेतेश्वर पुजाराले एक सय ४२ बलमा पाँच चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५९ रन जोडे । यसैगरी श्रेयस अय्यरले २६, रविचन्द्रन आश्विनले १६, अक्षर पटेलले अविजित १५ र विराट कोहलीले १३ रन बनाए ।

अस्ट्रेलियाका लागि नाथन लायनले आठ तथा मिचेल स्टार्क र म्याथ्यु कुहनेम्यानले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजको भारत पहिलो इनिङमा मात्र एक सय नौ रनमा अल आउट भएको थियो । अस्ट्रेलिया पहिलो पारीमा एक सय ९७ रनमा समेटिएपछि भारत ८८ रनले पछि परेको थियो ।

यस जितसँगै अस्ट्रेलियाले आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको छ । टेस्ट च्याम्पियनसिपको फाइनल इङ्ल्यान्डको लन्डनस्थित द ओभलमा  आगामी जुन सात देखि ११ सम्म हुनेछ । 

चौथो तथा अन्तिम टेस्ट मार्च नौबाट सुरु हुनेछ ।