पल्सर स्पोटर्स अवार्ड

को को छन् अवार्डको प्रतिस्पर्धामा ?

काठमाडौं । नेपाली खेलकुदले सबैभन्दा धेरै प्रतीक्षा गरिरहेको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १९औं संस्करण मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदै छ । ९ विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकर्मी र पत्रकार एकैथलोमा सम्मानित हुने अवार्ड नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित इभेन्ट हो ।

प्रतिष्ठित र ठूलो यस अर्थमा कि पल्सर स्पोर्टस अवार्डको एउटै थलोमा नेपाली खेलकुदमा योगदान गर्ने ९ फरक खेल व्यक्तित्व एकैपटक सम्मानित हुनेछन् । खेलकुद पत्रकारहरूको एउटा स्वतन्त्र छनोट समितिले वर्षभरिका खेल गतिविधिका केस्रा केस्रा केलाएर मनोनीत तथा विजेता छान्ने भएकाले यसको आधिकारिकता सर्वस्वीकार्य छ ।

यसपालि मञ्चका सचिव अञ्जन खड्काको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले यसैगरी केलाएका उपलब्धिहरूबाट वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेका छन् । खेलप्रेमीले दिएको मतका आधारमा विजेता चयन गरिने पिपल्स च्वाइस विधाका लागि पनि पाँच खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ ।

यसैगरी पूरा जीवन नेपाली खेलकुदको श्रीवृद्धिमा खर्चिने एकजना पाका खेलकर्मी लाइफटाइम एचिभमेन्ट अवार्ड, विशेष योगदान गर्ने एक व्यक्ति वा संस्था स्पेसल अवार्ड तथा नेपाली खेलकुद र खेल पत्रकारिताको प्रवद्र्धनमा योगदान गर्ने एक विदेशी पत्रकार एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट सम्मानित हुनेछन् । सँगै फरक क्षमता भएका खेलाडीमध्ये एक उत्कृष्टताका आधारमा पारा एथलिट सम्मानबाट सम्मानित हुने कार्यक्रम छ ।

९ मध्ये पाँच विधामा मनोनयन सार्वजनिक गरिइसकेको छ भने लाइफटाइम, स्पेसल, एसियन स्पोर्ट्स जर्नालिस्ट र पारा एथलिट सम्मानको विजेता सोझै अवार्डको दिन घोषणा गरिन्छ ।

पुरुष, महिला, प्रशिक्षक, युवा र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । युवा विधाको विजेताले यसै वर्षबाट मात्र मोटरसाइकल पुरस्कार पाउन लागेको हो । अघिल्लो वर्षसम्म पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले मात्र मोटरसाइकल पाउने गरेका थिए । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खेलकुदको मात्र नभई समग्र देशकै सर्वोत्कृष्ट इन्डोर कार्यक्रमका रूपमा ख्याति कमाएको अवार्डमा यसपालि रेड कार्पेट इभेन्ट, लोकप्रिय कलाकारका सांगीतिक प्रस्तुति, विशेष रूपले कोरियोग्राफी गरिएका खेल नृत्यजस्ता रोमाञ्चक प्रस्तुतिहरू अवार्डको आकर्षण बन्ने समारोह समितिका संयोजक एवं मञ्चका कार्यबाहक अध्यक्ष निरञ्जन अधिकारीले जानकारी गराएका छन् ।

अधिकारीका अनुसार अवार्डकै लागि भनेर तयार गरिएको मञ्च र अवार्डको ‘थिम सङ’ पनि यही कार्यक्रममार्फत सार्वजनिक गरिनेछ ।

पिपल्स च्वाइस विधा

यो विधामा खेलप्रेमीले लोकप्रिय मत दिएर आफूलाई मन परेको खेलाडीलाई जिताउन सक्छन् ।  

अवार्डका ९ विधामध्ये यो मात्र एक यस्तो विधा हो जसमा खेलप्रमी प्रत्यक्ष रूपमा जोडिन पाउँछन् । त्यसैले पनि यो विधा अन्यभन्दा निकै लोकप्रिय छ ।

यसपालि यो विधाको मनोनयनमा फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाशा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी परेका छन् । उनीहरूलाई आमखेलप्रमीले ई–सेवा र एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजमार्फत भोट गर्न सक्छन् ।

२०६५ बाट समावेश गरिएको पिपल्स च्वाइस अवार्डमा ई-सेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जाल फेसबुक लाइकको मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजबाट गर्नुपर्ने) र राष्ट्रिय प्रशिक्षक तथा खेल पत्रकारको मतभार समान १२.५ प्रतिशत हुनेछ । यसैको आधारमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दिन फागुन २३ मै यो विधाको विजेता घोषणा गरिनेछ ।  

वर्ष पुरुष खेलाडी

वर्षको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्ट, कप्तान किरण चेम्जोङ, राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टका प्रिन्स दाहाल छन् ।

यो विधा अवार्डको पहिलो संस्करणदेखि नै समावेश छ ।

वर्ष २०७८ मा गरेको प्रदर्शनका आधारमा मञ्चका सचिव खड्काको संयोजकत्वमा रहेको छनोट समितीले मनोनीत खेलाडीको नाम सिफारिस गरेको हो । छनोट समितिकै सिफारिका आधारमा यीमध्ये कुनै एक खेलाडी फागुन २३ मा वर्षको वर्ष पुरुष खेलाडी घोषित हुनेछन् ।

वर्ष महिला खेलाडी

यसपटक वर्षको उत्कृष्ट महिला खेलाडी बन्ने होडमा राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री, सदस्य सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल छन् ।

यो पनि अवार्डको पहिलो संस्करणदेखि नै समावेश गरिएको विधा हो । पुरुष विधामा जस्तै महिला विधामा पनि छनोट समितिकै सिफारिसका आधारमा मनोनीत खेलाडीको नामावली सार्वजनिक गरिएको हो । विजेता चयन पनि समितिले नै गर्नेछ ।

वर्ष युवा खेलाडी

वर्ष युवा खेलाडीको अवार्ड जित्नका लागि भलिबलकी उषा भण्डारी, ब्याडमिन्टनकी रसिला महर्जन, फुटबलका मनीष डाँगी, बक्सिङका छिरिङ वाङ्दी शेर्पा र फुटबलकी प्रीति राईबीच प्रतिस्पर्धा छ ।

२०६१ सालमा भएको अवार्डको तेस्रो संस्करणदेखि खेलकुद पत्रकार मञ्चले यो विधा समावेश गरेको थियो । युवा खेलाडीको उत्कृष्टताको होडमा रहेका पाँच खेलाडीको मनोनयन पनि छनोट समितिले गरेको हो । विजेता चयन पनि समितिले गर्ने मञ्चले जनाएको छ ।

वर्ष प्रशिक्षक

अवार्डको पहिलो संस्करणमा समावेश गरिए पनि २०६० सालमा गरिएको दोस्रो अवार्डमा यो विधा समावेश थिएन । तेस्रो संस्करणबाट पुनः समावेश यो विधा त्यसयता निरन्तर छ ।

खेलाडीलाई सफलताको बाटोमा डोर्याउने प्रशिक्षकमध्ये उत्कृष्ट हुने दौडमा यसपालि फुटबलका अब्दुल्लाह अल्मुताइरी, बसिक्ङका दीपक महर्जन, क्रिकेटका डेभ ह्वाटमोर, भलिबलका जगदीश भट्ट र पारा तेक्वान्दोका कविराज नेगी लामा छन् ।

वर्ष २०७८ मा गरेको योगदानका आधारमा दिइने यो अवार्डका लागि छनोट समितिले मनोनीत प्रशिक्षकको नाम चयन गरेको हो । पाँच उत्कृष्ट प्रशिक्षकमध्ये सर्वोत्कृष्ट प्रशिक्षकको टुंगो पनि छनोट समितिले नै लगाउने छ ।