काठमाडौं । अस्ट्रेलियन ब्याटर डार्सी सर्टको अर्धशतकीय पारीप्रेरित लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्समाथि प्रभावशाली जितको हकदार बनेको छ । बुधबार प्लेअफ समीकरणलाई जीवितै राख्न जितको विकल्प नभएको लुम्बिनीले विराटनगरलाई ५ विकेटले हरायो ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १४५ रनको मध्यम लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर डार्सीले ४४ बलमा ६ चौका र दुई छक्कासहित ५७ रनको पारी खेले । त्यस्तै विकेटकिपर ब्याटर निरोशन डिकवेलाले २९ रन बनाउँदा सन्दीप जोराले २४ रनको योगदान गरे । यसैगरी दीलिप नाथले १६ र ओपनर सुमित महर्जनले १० रन जोडे । कप्तान रोहित पौडेल भने खाता नै नखोली पवेलियन फर्किए ।
विराटनगरका लागि सुवास भण्डारी र कप्तान सन्दीप लामिछानेले समान दुई विकेट लिए । त्यस्तै वसीर अहमदको नाममा एक विकेट रह्यो ।

लुम्बिनी लायन्सले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ४६ रन जोडेको थियो । दुबै विकेट युवा स्पिनर सुवास भण्डारीले लिएका थिए । ओपनर सुमित महर्जनलाई विकेटकिपर साहिल पटेलबाट स्टम्प आउट गरेका सुवासले कप्तान रोहित पौडेललाई ‘डक आउट’ गरे । रोहित डुप्लेसीबाट क्याच भए ।
त्यसपछि सन्दीप जोरा र डार्सीले तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे । १०औं ओभरको दोस्रो बलमा जोरालाई सन्दीप लामिछानेले एलबिडब्लुको शिकार बनाए । जोरा पवेलियन फर्किएपछि क्रिजमा आएका निरोशन डिकवेलाले डार्सीसँग मिलेर चौथो विकेटका लागि ४६ रनको साझेदारी गर्दै टोलीलाई जित नजिक पुर्याए । यसबीच डार्सीले अर्धशतक पूरा गरेका हुन् । १४औं ओभरको दोस्रो बलमा डार्सीलाई लामिछानेले लोकेश बमबाट क्याच गराए । तर, धेरै ढिला भइसकेको थियो । अब जतका लागि लुम्बिनीलाई मात्र ३३ रन आवश्यक थियो ।
दीलिप नाथ र डिकवेलाले पाँचौं विकेटका लागि ३१ रनको साझेदारी गरे । जितका लागि दुई रन आवश्यक रहँदा लुम्बिनीले दीलिपलाई गुमायो । दीलिप वसीर अहमदको बलमा साम हेजलेटबाट क्याच भए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १४४ रनको योगफल खडा गर्यो ।
विराटनगरका लागि तेस्रो नम्बरमा आएका लोकेश बलमे ४२ बलमा समान दुई चौका र छक्कासहित ३५ रनको पारी खेले । त्यस्तै मध्यक्रमका ब्याटर वसीर अहमदले २८ रन जोड्दा चौथो नम्बरमा आएका साम हेजलेटले २७ रन बनाए । डुप्लेसी १२ रनमा पवेलियन फर्किँदा प्रतीस जिसीले ११ र मार्सेन्ट डी ल्याङले १० रन जोडे ।
लुम्बिनीका लागि शेर मल्ले चार ओभरमा २५ रन खर्चिँदै तीन विकेट लिए । त्यस्तै जोनाथन स्मिथ, अभिशेष गौतम र रुवेन ट्रम्पलम्यानले समान एक विकेट लिए ।

विराटनगरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ३४ रन जोडेको थियो ।
पहिलो खेल खेलिरहेका दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसी १२ रनमा पवेलियन फर्किए । त्यसअघि जर्ज मुन्से पहिलो ओभरमा ‘डक आउट’ भए । शेर मल्लको दोस्रो बलमा मुन्से एलबिडब्लुको शिकार बने ।
तेस्रो ओभरको अन्तिम बलमा डुप्लेसी विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प आउट भए । अभिशेष गौतमले लुम्बिनीका लागि डुप्लेसीको सफलता दिलाएका हुन् ।
डुप्लेसी पवेलियन फर्किएसँगै क्रिजमा आएका साम हेजलेटले लोकेश बमसँग मिलेर तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । १२औं ओभरको चौथो बलमा जोनाथन स्मिथले लोकेशलाई पवेलियनको बाटो देखाए । आफ्नो ओभरमा स्मिथ आफैले क्याच लिएका थिए । १२ रन जोड्न नपाउँदै नारायण जोशी शेरको बलमा एलबिडब्लुको शिकार बने । एक रनपछि हेजलेटलाई शेरले दिलीप नाथबाट क्याच गराए ।

१७औं ओभरको दोस्रो बलमा प्रतीस जिसी कप्तान रोहित पौडेलबाट रनआउट भए । जतिबृेृला स्कोरबोर्डमा १०५ रन बनेको थियो । वसीर अहमद र डी ल्याङले त्सपछि सातौं विकेटका लागि ३० रनको साझेदारी गरे । अन्तिम ओभरको दोस्रो बलमा ठूलो ‘शट’ प्रहार गर्ने चक्करमा वसीर आउट भए । ट्रम्पलम्यानले वसीरलाई टिलक भण्डारीबाट क्याच गराए । एक बल बाँकी छँदा साहिल पटेल सन्दीप जोरा र डिकवेलाको ‘कम्बिनेसन’मा रनआउट भए ।
