काठमाडौं । दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसीको उपस्थितिमा उत्सहित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सविरुद्ध १४५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै १४४ रनको योगफल खडा गर्यो ।
विराटनगरका लागि तेस्रो नम्बरमा आएका लोकेश बलमे ४२ बलमा समान दुई चौका र छक्कासहित ३५ रनको पारी खेले । त्यस्तै मध्यक्रमका ब्याटर वसीर अहमदले २८ रन जोड्दा चौथो नम्बरमा आएका साम हेजलेटले २७ रन बनाए । डुप्लेसी १२ रनमा पवेलियन फर्किँदा प्रतीस जिसीले ११ र मार्सेन्ट डी ल्याङले १० रन जोडे ।

लुम्बिनीका लागि शेर मल्ले चार ओभरमा २५ रन खर्चिँदै तीन विकेट लिए । त्यस्तै जोनाथन स्मिथ, अभिशेष गौतम र रुवेन ट्रम्पलम्यानले समान एक विकेट लिए ।
विराटनगरले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ३४ रन जोडेको थियो ।
पहिलो खेल खेलिरहेका दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसी १२ रनमा पवेलियन फर्किए । त्यसअघि जर्ज मुन्से पहिलो ओभरमा ‘डक आउट’ भए । शेर मल्लको दोस्रो बलमा मुन्से एलबिडब्लुको शिकार बने ।

तेस्रो ओभरको अन्तिम बलमा डुप्लेसी विकेटकिपर निरोशन डिकवेलाबाट स्टम्प आउट भए । अभिशेष गौतमले लुम्बिनीका लागि डुप्लेसीको सफलता दिलाएका हुन् ।
डुप्लेसी पवेलियन फर्किएसँगै क्रिजमा आएका साम हेजलेटले लोकेश बमसँग मिलेर तेस्रो विकेटका लागि ५५ रनको साझेदारी गरे । १२औं ओभरको चौथो बलमा जोनाथन स्मिथले लोकेशलाई पवेलियनको बाटो देखाए । आफ्नो ओभरमा स्मिथ आफैले क्याच लिएका थिए । १२ रन जोड्न नपाउँदै नारायण जोशी शेरको बलमा एलबिडब्लुको शिकार बने । एक रनपछि हेजलेटलाई शेरले दिलीप नाथबाट क्याच गराए ।

१७औं ओभरको दोस्रो बलमा प्रतीस जिसी कप्तान रोहित पौडेलबाट रनआउट भए । जतिबृेृला स्कोरबोर्डमा १०५ रन बनेको थियो । वसीर अहमद र डी ल्याङले त्सपछि सातौं विकेटका लागि ३० रनको साझेदारी गरे । अन्तिम ओभरको दोस्रो बलमा ठूलो ‘शट’ प्रहार गर्ने चक्करमा वसीर आउट भए । ट्रम्पलम्यानले वसीरलाई टिलक भण्डारीबाट क्याच गराए । एक बल बाँकी छँदा साहिल पटेल सन्दीप जोरा र डिकवेलाको ‘कम्बिनेसन’मा रनआउट भए ।
