एकदिवसीय क्रिकेट

पहिलो एकदिवसीयमा इङ्ल्यान्ड विजयी

काठमाडौं । डेविड मलानको शतप्रेरित इङ्ल्यान्डले घरेलु टोली बंगलादेशविरुद्धको एकदिवसीयअन्तर्राष्ट्रिय शृंखला अन्तर्गत पहिलो खेलमा तीन विकेटको जित निकालेको छ ।

मिरपुरस्थित शेर बंगाल नेसनल स्टेडियममा बुधबार बंगलादेशले प्रस्तुत गरेको दुई सय १० रनको लक्ष्य इङ्ल्यान्डले ४८.४ ओभरमा सात विकेट गुमाउँदै भेट्टायो ।  

इङ्ल्यान्डका लागि मलानले एक सय ४५ बलमा आठ चौका र चार छक्काको मद्दतमा अविजित एक सय १४ रन जोडे । यसैगरी विल ज्याक्सले २६, आदिल रशिदले अविजित १७, मोइन अलीले १४ र फिल साल्टले १२ रन जोडे ।  

आठौँ  विकेटका लागि  मलान र रासिदले अविजित ५१ रनको साझेदारी गरेका थिए ।

बंगलादेशका लागि ताइजुल स्लामले तीन, मेहदी हसनले दुई सकिब अल हसन र तक्सिन अहमदले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै दुई सय १० रनको योगफल तयार पारेको थियो ।

बंगादेशका लागि  नजमुल हसन सान्तोले ८२ बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ५८ रन जोडे । यसैगरी महमुदुल्लाहले ३१, कप्तान तमिम इक्वालले २३, मुस्फिकुर रहिमले १६, तस्किन अहमदले १४ र तइजुर स्लामले १० रन जोडे ।

पाँचौँ विकेटका लागि सान्तो र महमुदुल्लाहले ५३ रनको साझेदारी गरेका थिए ।

इङ्ल्यान्डका लागि जोफ्रा आर्चर, मोइन अली, मार्क उड र आदिल रशिदले समान दुई तथा क्रिस वोक्स र विल ज्याकले समान एक विकेट लिए ।

यस जितसँगै इङ्ल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । शृंखलाको दोस्रो खेल शुक्रबार हुनेछ ।