अस्ट्रेलियन ओपन

साविक विजेता जोकोभिच तेस्रो चरणमा

फाइल तस्बिर

काठमाडौं । घरेलु खेलाडी एलेक्सी पोपिरिनलाई ३-१ को सेटमा हराउँदै साविक विजेता नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार रोड लभेर एरिनामा सम्पन्न खेलमा १० पटकका च्याम्पियन सर्बियन स्टार जोकोभिचले पहिलो सेट ६-३ ले जितेका थिए । दोस्रो सेटमा  ६-४ को जित निकाल्दै पोपीरिनले खेल बराबरीमा ल्याए ।

निकै प्रतिस्पर्धात्मक तेस्रो सेट ७-६ (७-४) ले जित्दै जोकोभिचले खेलमा २-१ को अग्रता बनाएका थिए । चौथो सेट ६-३ ले आफ्नो पक्षमा पार्दै विश्व नम्बर एक जोकोभिचले तेस्रो चरणमा स्थान बनाए ।

जोकोभिचले तेस्रो चरणमा अर्जेन्टिनाका टोसम मार्टिन एचेभेरीको सामना गर्नेछन् । एचेभेरीले फ्रान्सका गिएल मोन्फिल्सलाई ६-४, ६-४, ६-४ को सोझो सेटमा हराउँदै तेस्रो चरणको यात्रा तय गरेका हुन् ।

बुधबार नै जित हात पार्दै  जानिक सिनर, स्टेफानोस सित्सिपास र टेलर फ्रिट्जले पनि तेस्रो चरणमा स्थान पक्का गरे ।