केपी ओली कप फुटबल प्रतियोगिता

केपी ओली कपमा भारत र भुटानका क्लब पनि सहभागी हुने

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप फुटबल प्रतियोगिता हुने  भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले केपी ओली कपको बारेमा जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन लिगका क्लब र विदेशी क्लबहरु सहभागी हुने संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । प्रतियोगितामा भारत र भुटानका क्लब पनि सहभागि हुने जनाइएको छ ।

खेलकुद र मनोरन्जन मार्फत युवाहरुमाझ प्रवाभकारी ढंगले कुरा राख्न सकिने भएकाले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष थेवेले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै एमालेका पोलिटब्युरो सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतले युवा संघले गर्न लागेको यस्ता प्रतियोगिताले समाजमा सकरात्मक सन्देश दिन बताए ।

प्रतियोगिताको सेमिफाइनलसम्मका खेल च्यासल रंगशाला तथा फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् । गत वर्ष सम्पन्न प्रतियोगिताको पहिलो संस्करणमा मछिन्द्र क्लब च्याम्पिपयन बनेको थियो ।