इम्मा राडुकानु

पुनर्जन्म पाएको महसुस गरिरहेको छुः राडुकानु

काठमाडौं । करिब ८ महिनापछि टेनिस कोर्टमा फर्किने तयारीमा रहेकी बेलायती स्टार इम्मा राडुकानुले पुनर्जन्म पाएको महसुस गरेको बताएकी छन् ।

सन् २०२१ को युएस ओपन च्याम्पियन राडुकानुले सन् २०२३ मा जम्मा ९ खेल खेलेकी छन् । उनी अप्रिलदेखि नै कोर्ट बाहिर छिन् ।

‘एक तरिकाले मैले पुनर्जन्म पाएको महसुस गरिरहेको छु । म मैदान फर्किन तयार र उत्साहित छु,’ राडुकानुले भनिन् ।

२१ वर्षीया राडुकानुको दुवै हात र बायाँ खुट्टाको शल्यक्रिया गरिएको थियो । उनी विश्व वरीयतामा २ सय ९८ औँ स्थानमा झरेकी छन् । उनी अर्को हप्ता अकल्यान्ड क्लासिकमार्फत मैदान फर्किने तयारीमा छिन् ।

यसैगरी उनने मैदान फर्किन पाउँदा खुसी लागेको बताइन् । ‘म सकारात्मक र हल्का महसुस गर्दैछु। मैदान फर्किन पाउँदा खुसी छु,’ राडुकानुले भनिन्,‘ युएस ओपनपछि दुई वर्षसम्म मैले बढी बोझ महसुस गरे तर अहिले पूर्णरूपमा ताजा छु ।’