नेपाल ओलम्पिक कमिटी

ओलम्पिक कमिटी र चीनका प्रतिनिधिबीच शिष्टाचार भेट

काठमाडौं । चीनको चेचियाङ प्रान्तको खेलकुद प्रतिनिधिहरूले शुक्रबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेका छन् ।

सातदोबाटोस्थित कमिटीको प्रधान कार्यालयमा भएको भेटमा दुई पक्षबीच सहयोग र सहकार्यको आदान प्रदान गर्नेबारे छलफल भएको थियो । चेचियाङ प्राप्तको प्रमुख सहर हाङचाउले हालै मात्र एसियाली खेलकुदको आयोजना गरेको थियो ।

ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हाङचाउले सफलतापूर्वक एसियाली खेलकुदको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै चीनले नेपाली खेलकुदको विकासमा लामो समयदेखि लगातार सहयोग गर्दै आएको बताए ।

चिनिँया प्रतिनिधि मण्डलका प्रमुख चेङ याउले एसियाली खेलकुदमा नेपालको उत्साहजनक सहभागिताका लागि धन्यवाद व्यक्त गरे ।

सहभागितको आधारमा विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवका रूपमा आयोजना भएको हाङचाउ एसियाली खेलकुदलाई अहिलेसम्मकै सफल मानिएको छ । त्यस प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो ।

याउ हाङचाउ एसियाली खेलकुद आयोजना कमिटीका उपसचिव हुन् । यस्तै उनी चेचियाङ प्राप्तको खेलकुद ब्युरोका निर्देशक समेत हुन् ।

उनले आफ्नो प्रान्त नेपालीको विकासका लागि सहयोग गर्न सधैं तयार रहेको बताउँदै दुई पक्षबीच प्रतियोगिता र प्रशिक्षणका लागि खेलाडी आदान प्रदान गर्ने प्रस्ताव पनि राखे । उनले आफूहरू नेपालमा ड्रायगन-बोट खेलको प्रवर्द्धन र विकास गर्न पनि तत्पर रहेको बताए । दक्षिण चीनमा यो खेल निकै लोकप्रिय रहेको र चीन अहिले यसको प्रचार प्रसारमा रहेको छ ।

चीनकाे प्रतिनिधि मण्डलमा चेचियाङ कलेज अफ स्पोर्टसका डिन मेङ ग्वालियाङ, चिनह्वा म्युनिसिपालिटी ब्युरो अफ स्पोर्टसका सचिव हे चिचुन, लिसुइ स्पोर्टस डेभलपमेन्ट सर्भिस सेन्टरका निर्देशक हाङ योङह्वा र चेचियाङ कलेज अफ स्पोर्टसका उपनिर्देशक टोङ युकोङ थिए ।

यसैगरी ओलम्पिक कमिटीका प्रमुख पदाधिकारी पनि उपस्थित थिए ।