नेपाली फुटबल

एनएसएलको पूरा समय खेल्ने 'फाइभ स्टार'

काठमाडौं । ललितपुर सिटी एफसीले उपाधि उचालेसँगै गत साता नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करण सकिएको छ । दशरथ रंगशालामा १५ हजार ५ सय समर्थकमाझ ललितपुरले रोमाञ्चक फाइनलमा धनगढी एफसीलाई ३-२ ले हराएको थियो ।

तीन वर्षपछि भएको दोस्रो संस्करणलाई धेरै विषयले रोचक बनायो । स्तरीय विदेशी खेलाडीको उच्च र निर्णायक प्रदर्शन, अनुमान गर्नै नसकिने चर्को प्रतिस्पर्धा, युवा खेलाडीको जोस र व्यावसायिक आयोजनाका लागि आयोजकले देखाएको गम्भीरताका कारण समग्रमा प्रतियोगिता रोमाञ्चक रह्यो ।

पहिलो पटक  नौ टोली सहभागी भएको प्रतियोगितामा फाइनलसम्म पाँच खेलाडीले पूरा समय खेलेका छन् । च्याम्पियन ललितपुरका चार र उपविजेता धनगढीका एक खेलाडीले सबै खेलमा पूरा समय मैदानमा बिताए ।

धनगढीका कप्तान देवेन्द्र तामाङ, ललितपुरका कप्तान एवं मार्की खेलाडी अनन्त तामाङ, गोलकिपर जेफेरी विली मार्सेल, इमोह इजेकिएल र सन्जित राईले फाइनलसम्म पूरै समय खेलेका थिए ।

पाँच खेलाडीले फाइनलसम्म पूरा समय खेल्दा अन्य १३ खेलाडीले आफ्नो टोलीको यात्रा रहुन्जेल पूरा समय मैदान बिताए । पोखराका सुरजज्यू ठकुरी र फ्रान्कलिन कुइटे टल्ला, झापाका स्टेफन कुपिक र सामन्धर ओचिलोभ, बुटवल लुम्बिनीका मार्की तथा कप्तान एरिक विष्ट, नाइजेरियन गोलकिपर मोहम्मोदु र आन्द्रे थियरी वियिक वियिक, एफसी चितवनका गोलकिपर तथा कप्तान विशाल श्रेष्ठ, छिरिङ गुरुङ, घानाका एमुबारिक युसिफ र टोरिक जेब्रिन, वीरगन्जका दीप कार्की, इलामका फोेडे कामराले प्रतियोगितामा आफ्नो टोलीले खेलेका सबै खेलमा पूरा समय मैदानमा बिताए ।

अनन्त तामाङ- ललितपुर सिटी


अनन्त तामाङले पहिलो पटक एनएसएल खेलेका हुन् । घाइते भएका कारण तीन वर्षअघिको पहिलो संस्करण गुमाएका उनले दोस्रो संस्करण भने आफ्नो लागि पनि सानदार बनाए । फाइनलसम्म पुग्दा ललितपुरले पहिलो चरणमा आठ, एलिमिनेटर, दोस्रो क्वालिफायर र फाइनल गरी ११ खेल खेलेको थियो । 

रक्षकको भूमिकामा रहेका अनन्तले दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध १ सय २० मिनेट नै खेले । अन्य खेलमा पूरा ९० मिनेट नै खेले । एक गोल गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी चुनिए ।

देवेन्द्र तामाङ- धनगढी एफसी


धनगढी उपविजेता बन्दा रक्षक देवेन्द्र तामाङको प्रदर्शन प्रेरणादायी थियो । प्रतियोगितामा धनगढीले १० खेल खेल्दा देवेन्द्रले पूरा समय मैदानमा बिताएका थिए । 

पहिलो क्वालिफायरमा पोखरा थन्डर्सविरुद्ध १ सय २० मिनेट खेल्दा देवेन्द्रले पूरा समय मैदानमा डटेर खेले । टाइब्रेकरसम्म पुगेर जित पाएको खेलमा पहिलो हाफमै पछि परेको अवस्था उल्टाउने क्रममा उनले धनगढीका लागि गोल गरेका थिए । १-१ को बराबरीमा निर्धारित समय सकिएपछि थप गरेको ३० मिनेटमा पनि दुवै टोलीको तर्फबाट १-१ गोल भएपछि खेल निर्णयार्थ पेनाल्टी सुटआउटमा पुगेको थियो । 

राष्ट्रिय टोलीका सदस्य देवेन्द्र यसपालि भाग्यशाली पनि रहे । अस्ट्रेलिया जाने तयारीबीच उनलाई कुनै पनि टोलीले अक्सनमा बोली लगाएका थिएनन् ।  विदेसिने चर्चाका कारण जोखिम मोलेर ‘ए’ श्रेणीमा रहेका देवेन्द्रलाई धनगढीले अनुबन्ध गरेको थियो ।

जेफेरी विली मार्सेल-ललितपुर सिटी


ललितपुरका फ्रान्सेली गोलकिपर जेफेरीले पनि प्रतियोगितामा आफ्नो टोलीले खेलेका सबै खेलमा पूरा ९० मिनेट मैदानमा बिताए । उनले फाइनलसम्म ११ खेल खेल्दा इलिमिनेटरमा भने इन्जुरी समयमा गोलकिपर विशाल सुनारलाई पोस्ट सुम्पेका थिए । पहिलो पटक नेपाली फुटबलमा देखिएका जेफेरीले प्रतियोगिताभर ६ क्लिनसिट राखे । उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट गोलकिपर चुनिएका थिए ।

इमोह एजेकिएल- ललितपुर सिटी


प्रतियोगितामा ६ गोलसहित उच्च गोलकर्ताको अवार्ड ललितपुरका स्ट्राइकर इमोह इजेकिएलले जितेका थिए । उनले प्रतियोगितामा सबै ११ खेलमै निर्धारित समयको पूरा अवधि मैदानमा बिताए । 

समूह चरणमा वीरगन्ज युनाइटेडविरुद्ध एक गोल गरेका नाइजेरियन स्ट्राइकरले प्लेअफ र फाइनलमा  पाँच गोल थप गर्दै आफ्नो प्रभाव प्रमाणित गरे । काठमाडौं र धनगढीविरुद्ध समान दुई गोल गरेका उनले पोखराविरुद्ध एक गोल गरेका थिए । पोखराविरुद्ध दोस्रो क्वालिफायरमा ९० मिनेटपछि कुशल देउवाले इमोहको स्थान लिएका थिए ।

सन्जित राई-ललितपुर सिटी


प्रतियोगितामा सोचेभन्दा फरक देखिए सन्जित राई । ललितपुरबाट खेलेका २३ वर्षे यी लेफ्टब्याकले अप्रत्यासित रूपमा आफूलाई प्रमाणित गर्दै पूरा समय खेलेका हुन् । झापाका सन्जितले प्रतियोगिताभर एकमात्रै पहेँलो कार्ड सामना गरेका थिए ।

 अस्ट्रेलियन प्रशिक्षक इयान आन्द्रे गिलानले सन्जित लेफ्टब्याकमा राम्रो विकल्प हुनसक्ने सन्देश दिएर छाडेका छन् । राष्ट्रिय टोलीमा लेफ्टब्याकको कमी रहेको अवस्थामा सन्जित राम्रो विकल्प बन्न सक्नेछन् ।

सुरजज्यू ठकुरी- पोखरा थन्डर्स


पोखरा थन्डर्स दोस्रो क्वालिफायरबाट बाहिरिँदा मिडफिल्डर सुरजज्यू ठकुरीको प्रदर्शन उत्साहजनक रह्यो । पछिल्लो समय राष्ट्रिय टोली बाहिर रहेका सुरजले एनएसएलमा सानदार प्रदर्शन गरेर आफू कमब्याक गर्न तयार रहेको संकेत दिए । 

पोखराले सुपर लिगमा १० खेल खेल्दा सुरजले पूरा समय खेलेका छन् । उनले धनगढीविरुद्धको पहिलो क्वालिफायरमा १ सय २० मिनेट नै मैदानमा बिताएका थिए । प्रतियोगिताअघि कमजोर मानिएको पोखरा सानदार प्रदर्शनसहित लिग चरणमा शीर्षस्थानमा रहन सफल भयो ।

फ्रान्कलिन टल्ला-पोखरा थन्डर्स


पोखराबाट सुरजसँगै क्यामरुनी रक्षक फ्रान्कलिन कुइटे टल्लाले सानदार प्रदर्शन गरे । नेपाली फुटबलमा परिचित टल्लाले दोस्रो क्वालिफायरसम्मको यात्रामा पोखराको रक्षापंक्तिमा जबरजस्त प्रदर्शन गरे । प्रतियोगितामा टोलीले खेलेका पूरै खेल खेलेका उनले एक गोलसमेत गरेका छन् ।

स्टेफन कुपिक-झापा एफसी


उपाधि विजेता ललितपुर सिटीसँग गोलअन्तरमा पछि परेपछि झापा प्लेअफमा स्थान बनाउन असफल रह्यो । अझ चितवन एफसीसँग अन्तिम खेल हार्नु झापाका लागि दुःखद थियो । झापाको यात्रामा सर्बियन गोलकिपर स्टेफन कुपिकले सानदार प्रदर्शन गरे । उनले ८ खेल नै पूरा समय खेले । जसमध्ये ५ खेलमा उनले कुनै गोल सामना गरेनन् ।

सामन्दर ओचिलोभ–-झापा एफसी

उज्वेकिस्तानी रक्षक सामन्दर ओचिलोभ एनएसएलमा पूरा समय मैदानमा बिताउने अर्का खेलाडी हुन् । उनले झापाका लागि एक गोलसमेत गरे । पहिलो पटक नेपाली फुटबलमा देखिएका ओचिलोभले रक्षापंक्तिको जिम्मेवारी लिए पनि आवश्यकताअनुसार टोलीको अग्रपंक्तिबाट समेत खेलेका थिए ।

अरू खेलाडी
बुटवल लुम्बिनीका मार्की तथा कप्तान एरिक विष्ट, नाइेजेरियन गोलकिपर मोहम्मोदु र आन्द्रे थियरी वियिक वियिकले पूरा समय खेले । एफसी चितवनका गोलकिपर विशाल श्रेष्ठ, छिरिङ गुरुङ, घानाका एमुबारिक युसिफ र टोरिक जेब्रिन, वीरगन्जका दीप कार्की, इलामका फोेडे कामराले प्रतियोगितामा आफ्नो टोली लिग चरणसम्म टिक्दा सबै खेल पूरा समय खेलेका छन् ।  

२५ खेलाडीले निलम्बन, इन्जुरी तथा परिवर्तन हुँदा एक खेल खेल्न पाएनन् । जसका कारण उनीहरू प्रतियोगितामा पूरा समय खेल्ने खेलाडीको सूचीबाट वञ्चित भए ।

दुर्भाग्यवश एक खेलका कारण पूरा समय मैदानमा बिताउन नपाएका अभागीहरूमा ललितपुरका रक्षक ओमोलाजा नुरैन करिम, सेसेहाङ आङ्देम्बे, झापाका छिरिङ गुरुङ, पोखराका आइकोनिक दिनेश राजवंशी, जोय आइडू, एन्जल महर्जन र प्रिसो एनजन्गा, काठमाडौं रेजर्सका उज्वेकिस्तानी खेलाडी कोमिवन टोजिडिनोभ, सोखरुख, एनकेनगुइ जुनियर, किनगुइ ओलिभर र आन्द्रेस निया, बुटवल लुम्बिनीका अर्नेस्ट टम्पी र  स्टेफन समिर बिनोङ, चितवनका राफिक अमिनु, अफ्रियी एसी क्वाह र विमल घर्तीमगर, वीरगन्जका डिजाड सामला गुस्ताभो, तेज तामाङ र एकिन्स बाफोर, इलामका आशिष गुरुङ, इब्राहिम डिजामी, अमाथ डव, विमल पाण्डे र सन्तोष खत्री छन् ।