पिएसजी

पिएसजी अंक बाँड्न बाध्य

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)ले फेन्च लिग वान फुटबलमा अंक बाडेको छ । आइतबार राति भएको खेलमा पिएसजी रेइम्ससँग १-१ गोलको बराबरीमा रोकियो ।

अंक बाँडेपछि पिएसजीले शीर्षस्थानमा तीन अंकको मात्रै दूरी बनाएको छ । २० खेलबाट पिएसजीको ४८ अंक छ । दोस्रो स्थानको लेन्सको समान खेलबाट ४५ अंक रहँदा रेइम्स २६ अंकसहित ११औं स्थानमा छ ।

लियोनल मेसी, नेयमार र केलियन एम्बाप्पेसहित मैदान उत्रिएको पिएसजी एक गोलको अग्रता जोगाउन असफल भएको थियो । घरेलु मैदानमा पिएसजी १० खेलाडीमा सिमित बन्यो ।

खेलको ५९औं मिनेटमा मार्काे भेराट्टीले विपक्षी खेलाडीमाथि फाउल गरेपछि सिधै रातो कार्डको सामना पर्नुपर्यो । यसअघि पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भएको थियो ।

५१औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । नेयमारले जुआन बर्नाटको पास सदुपयोग गरे । इन्जुरी समयमा पिएसजी गोल बेहोर्न पुगेका थियो ।

पाँच मिनेट थपिएको इन्जुरी मिनेटको अन्तिम समयमा फोलरिन बालोगुनले बराबरी गोल गर्दै टोलीको हार टारेका थिए ।

बराबरीपछि पिएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले स्तब्धपूर्ण नतिजा भएको र यस खेलबाट सन्तुष्ट नभएको प्रतिक्रिया दिएका छन् ।