लुका मोड्रिच

२०२४ को युरोपियन च्याम्पियनसिप खेल्ने मोड्रिचको संकेत

दोहा । क्रोएसियाका कप्तान लुका मोड्रिचले २०२४ कोयुरोपियन च्याम्पियनसिप  खेल्ने संकेत गरेका छन ।

गत संस्करणको उपविजेता क्रोएसियाले शनिबार मोरोक्कोलाई २-१ ले पराजित गर्दै तेस्रो स्थानमा रहँदै कतार विश्वकप २०२२ को यात्राको अन्त्य गरेको थियो । मोरोक्कोविरुद्धको खेल नै मोड्रिचका लागि क्रोएसियाबाट अन्तिम खेल हुने अनुमान गरिएको थियो ।

क्रोएसियाले २०१८ को रुस विश्वकपमा मोड्रिचकै प्रभावशाली प्रदर्शनमा फाइनलसम्मको यात्रा तय गरेको थियो । जहाँ त्रोएसियाले फाइनलमा फ्रान्सलाई नतिजा सुम्पिएको थियो ।

२०१८ का बलोन डी अर विजेता मोड्रिचले भने तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास नलिने र २०२४ को युरोपियन च्याम्पियनसिपसम्म खेल्ने संकेत गरेका हुन् । २०२४ को युरोपियन च्याम्पियनसिप जर्मनीले आयोजना गर्दैछ ।

क्रोएसियाले मोड्रिचकै कप्तानीमा यसै वर्ष नेदरल्यान्ड्समा युइएफए नेसन्स लिगको फाइनल चरण खेल्दैछ । जहाँ क्रोएसियासँगै नेदरल्यान्ड्स, इटाली र स्पेनले प्रतिस्पर्धा गर्नेछन ।

‘हामीले तेस्रो स्थानमा रहँदै कतार भ्रमणको अन्त्य गर्यौ’, मोड्रिचले भने, ‘हामीले विश्व फुटबलमा आफूलाई पनि उपाधि दाबेदारको रुपमा उभ्याउँदै आएका छौ र यो क्रोएसियाको फुटबलका लागि सकारात्मक पक्ष हो । म अहिले नै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिन्छु भन्ने स्थितीमा छैन । त्यसका लागि मसँग निर्णय लिन पर्याप्त समय छ । अहिले म नेसन्स लिगको फाइनल चरणमा राम्रो प्रदर्शन गर्नेमा केीन्द्रत छु ।’

क्रोएसिया प्रशिक्षक ज्लाट्को डालिचले पनि २०२४ को युरोपियन च्याम्पियनसिपमा पनि मोड्रिचले नै टोलीको कप्तानी सम्हाल्ने विश्वास व्यक्त गरेका थिए ।