च्याम्पियन्स लिग

टोटनहम शीर्ष स्थानमा उक्लियो

लन्डन । सन ह्युङ मिनको दुई गोलमा टोटनहम बुधबार १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको इन्ट्राक्ट फ्रयांकफर्टमाथि ३-२ को जितसहित च्याम्पियन्स लिगको समूह डी को शीर्ष स्थानमा उक्लिएको छ ।

चार खेलमा दुई जित, एक हार र एक बराबरीको नतिजापछि टोटनहम सात अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । समान खेलमा दुई जित र दुई हारपछि मार्सेली ६ अंकका साथ दोस्रो स्थानमा छ ।स्पोर्टिङ लिस्बन पनि समान दुइ जित र दुई हारपछि समान ६ अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानको फ्रयांकफर्टको चार खेलमा चार अंक छ । 

१४औं मिनेटमा दाइची कमाडाको गोलमा फ्रयांकफर्टले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि नै सनले टोटनहमलाई खेलमा फर्काएका थिए ।

२८औं मिनेटमा ह्यारी केनले पेनाल्टीको सदुपयोग गरेसँगै टोटनहमले अग्रता लिएको थियो ।३६औं मिनेटमा सनले टोटनहमका लागि तेस्रो गोल गरे ।

८७औं मिनेटमा एलिडोउले गरेको गोलमा फ्रयांकफर्टले खेलमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त भएन । इन्जुरी समयको दोस्रो मिनेटमा केनले पेनाल्टीको अवसर गुमाउँदा टोटनहमले गोलअन्तर बढाउने अवसर गुमाएको थियो ।

समूह डी कै अर्को खेलमा मार्सेलीले दोस्रो स्थानमा उक्लिने क्रममा स्पोर्टिङ लिस्बनलाई २-० ले हरायो ।