इङ्लिस प्रिमियर लिग

टुचेल र कोन्टेलाई एफएको कारबाही

लन्डन । एफएले गत आइतबार लन्डन डर्बीमा विवदामा उत्रिएका चेल्सीका प्रशिक्षक थोमस टुचेलमाथि  एक खेलको प्रतिबन्ध लगाएको छ भने टोटनहमका प्रशिक्षक कोन्टेमाथि जरिवाना तोकेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा जितको संघारमा पुगेर पनि अंक बाँड्नु पर्दा टुचेल निराश बनेका थिए । खेल लगत्तै टुचेल र कोन्टेबीच विवाद भएको थियो । दुवै एक अर्कोप्रति आक्रामक देखिएका थिए ।

दुवै प्रशिक्षकलाई रेफ्री एनथोनी टेलरले रातो कार्डको दर्शन गराएका थिए । सो घटनाको अध्ययनपछि एफएले टुचेलमाथि एक खेल र ३५ हजार पाउन्ड तथा कोन्टेमाथि १५ हजार पाउन्डको जरिवाना तोकेको हो । 

टुचेलको प्रतिबन्ध तत्काल भने लागु हुनेछैन । उनले एफएको निर्णयविरुद्ध अपिल गर्न पाउने भएकाले त्यसपछि आउने लिखित निर्णयपछि मात्र  प्रतिबन्ध लागु हुनेछ ।

चेल्सीले आइतबार लिड्सको भ्रमण गर्दा टोटनहमले उल्भरहमटनको सामना गर्नेछ ।