इटालियन सिरी ए

रामसी निसमा अनुबन्ध

मिलान । गत महिना इटालियन सिरी ‘ए’ को क्लब युभेन्टस छोडेका वेल्सका मिडफिल्डर एरोन रामसी फ्रेन्च लिग वानको क्लब निसमा अनुबन्ध भएका छन् ।

रामसी र युभेन्टसबीचको सम्झौता गत महिनाबाट अन्त्य भएको थियो । 

चोटका कारण अधिकांश समय मैदान बाहिर बस्नु परेकाले उनका लागि युभेन्टसको तीन वर्षको बसाई सुखद भने भएन । रामसीले युभेन्टसबाट सिरी ‘ए’ मा ४९ खेल खेलेका थिए ।

उनी जनवरी सरुवा बजारमा युभेन्टसबाट ६ महिनाका लागि लोनमा रेन्जर्स गएका थिए । तर गत सिजन युरोपा लिगको फाइनलमा फ्रयांकफर्टविरुद्ध निर्णयक पेनाल्टीको अवसर गुमाएका कारण उनको ग्लास्गो बसाई पनि सुखद रहेन ।

रामसी कतार विश्वकप २०२२ अघि आफूलाई स्वभाविक लयमा फर्काउन चाहन्छन् ।