इङ्लिस प्रिमियर लिग

प्रशिक्षक मान्चिनीको सल्लाहमा वेस्ट हम रोजेको स्कामक्काको खुलासा

मिलान । स्ट्राइकर जियानलुका  स्कामक्काले इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीको सल्लाहमा इटालियन सिरी ‘ए’ को क्लब सासौलोको यात्रामा पूर्णविराम लगाउँदै इङलिस प्रिमियर लिगको क्लब वेस्ट हम रोजेको खुलासा गरेका छन् ।

 स्कामक्काले मंगलबार वेस्ट हमसँग ३६ मिलियन युरोमा पाँच वर्षको सम्झौता गरेका थिए । उनलाई भित्राउन फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) ले पनि इच्छा देखाउँदै आएको थियो ।

स्कामक्काले गत सिजन सासौलोबाट सिरी ‘ए’ मा ३६ खेल खेल्दै १६ गोल गरेका थिए ।

गत वर्ष उनले इटालीको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले इटालीबाट सात खेल खेलिसकेका छन् ।
‘म वेस्ट हम आउनु अघि मान्चिनीसँग सल्लाह लिएको थिए’,स्कामक्काले भने, ‘उनकै सल्लाहमा मैले प्रिमियर लिगको क्लब रोजेको हुँ । प्रिमियर लिग विश्वकै उत्कृष्ट लिग हो । त्यसैले मैले यहाँ खेल्ने निर्णय लिए । आशा छ मेरो खेलमा धेरै सुधार आउने छ ।’

लन्डन स्टेडियममा अगस्ट सातमा म्यानचेस्टर सिटीविरुद्धको खेलसँगै स्कामक्काले वेस्ट हमबाट प्रिमियर लिगमा डेब्यु गर्ने सम्भावना रहेको छ ।