जर्मन बुन्डेसलिगा

डी लिज्टको आगमन बुन्डेसलिगाका लागि विशेषः नागेल्सम्यान

बर्लिन । बायर्न म्युनिखका प्रशिक्षक युलियान नागेल्सम्यानले इटालियन सिरी ‘ए’ को क्लब युभेन्टसका रक्षक माटियास डी लिज्टको आगमन आफ्नो क्लबका लागि मात्र नभई जर्मन बुन्डेसलिगाकै लागि विशेष रहेको बताएका छन् ।

डी लिज्टलाई जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्नले सोमबार ८० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । बायर्नले उनलाई पाँच वर्षका लागि अनुबन्ध गरेको हो ।

बायर्नले यस सिजनका लागि भित्राएको डी लिज्ट चौथो खेलाडी हुन्  । यसअघि बायर्नले लिभरपुलबाट साडियो माने र आयासक्सका नौसायर माज्रौउ र रायन ग्राभेनवाचलाई भित्राएको थियो ।

डी लिज्टलाई भित्राउने क्रममा बायर्नले आर्सनल र म्यानचेस्टर युनाइटेडलाई पछि छोडेको हो ।

‘म निकै खुशी छु । उनी अझै युवा छन् र उनीसँग यसअघि नै शीर्ष लिगहरु खेलेको अनुवभ छ,’ नागेल्सम्यानले भने,'उनको आगमन हाम्रा लागि मात्र नभई जर्मन बुन्डेसलिगाकै लागि विशेष हुनसक्छ ।'