एनआरटी

थाइल्यान्ड भ्रमणमा एआरटीको पहिलो जित

बैंकक । थाइल्यान्ड भ्रमणमा रहेको सहिद स्मारक ‘ए’ डिभिजन क्लब न्युरोड टिम (आनआरटी) ले पहिलो जित निकालेको छ ।

बुधबार एनआरटीले थाइल्यान्डको तेस्रो डिभिजनको क्लब थोनबुरी एफसीलाई २–१ ले पराजित गरेको हो । एनआरटीले १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जित निकालेको हो ।

एनआरटीको जितमा मेसुके ओलोमेउ र दीपेस घलेले गोल गरे ।

खेलको ३२औं मिनेटमा किटिपोङ सेनपोङले गोल गर्दै थोनबुरीलाई अग्रता दिलाएका थिए ।

तर, ५३औं मिनेटमा ओलोमेउले गोल गर्दै एनआरटीलाई खेलमा फर्काएका थिए । यस्तै, ७६औं मिनेटमा दीपेसले पेनाल्टीमार्फत निर्णायक गोल गरे । थोनबुरीका खेलाडीले ओलोमेउमाथि फउल गरेपछि एनआरटीले पेनाल्टी पाएको थियो । जसमा दीपेसले कुनै गल्ति गरेनन् ।

थाइल्यान्ड भ्रमणमा रहेको एनआरटीको यो तेस्रो मैत्रीपूर्ण खेल हो । एनआरटी यसअघि पहिलो खेलमा चोनबुरी क्लबसँग ९–० ले र दोस्रो खेलमा कासेमसँग ५–२ ले पराजित भएको थियो ।

यो सँगै एनआरटीको प्रि–सिजन भ्रमण सकिएको छ । एनआरटीले थाइल्यान्डअघि मलेसियामा टुवान याङ तेरुत (टिवाइटी) कप खेलेको थियो । उक्त कपमा दुई खेल खेलेको एनआरटी दुबै खेलमा पराजित भएको थियो ।