नेपाली क्रिकेट

सोमपालको तीन विकेटसँगै स्कटल्यान्डविरुद्ध नेपालको बलियो पकड

एडिनबर्ग । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले बलियो पकड बनाएको छ ।

स्कटल्यान्डको टिटउड क्रिकेट मैदानमा टस जितेपछि फिल्डिङमा उत्रिएको नेपालले १२ ओभरको खेल सकिदा घरेलु टिमको पाँच ब्याटरलाई पभेलियन फर्काउँदै ३५ रनमात्र दिएको छ ।

नेपालका सोमपाल कामीले तीनसँगै करण केसी र आदिल आलमले समान एक विकेट लिए । ६ ओभर बलिङ गरेका सोमपालले १७ रन खर्चिदा पाँच ओभर बलिङ गरेका करणले १४ रन खर्चेका छन् । यस्तै, एक ओभर बलिङ गरेका आदिलले चार रन दिएका छन् । आदिलले आफ्नो पहिलो ओभरमै सफलता हात पारेका हुन् ।

सोमपालले किल कोइटजर, म्याथ्यु क्रस र रिची बेरिङटनको विकेट लिँदा करणले क्यालम म्याकलेओड र आदिलले जर्ज मुन्सेलाई पभेलियन फर्काए । 

कोइटजर ६, क्रस २, म्याकलेओड १३, मुन्से ४ र रिची बेरिङटन ४ रनमा आउट भए ।

स्कटल्यान्ड, नेपाल र नामिबियासम्मिलित शृंखलाको पहिलो खेलमा नेपाल ४० रनले पराजित भएको थियो ।

तालिकामा १७ खेल खेलेर १५ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । नेपालले लिग २ मा अझै १९ खेल्न बाँकी छ । यसक्रममा नेपालले ७ खेलमा जित निकाल्दा एक खेल ‘टाइ’ र नौ खेलमा पराजय बेहोरेको थियो ।