एफए कप

चेल्सी लगातार तेस्रो पटक एफए कपको फाइनलमा

लन्डन । रुबेन लोफ्टस चेक र मेसन माउन्टले दोस्रो हाफमा गरेको गोल मद्दतमा चेल्सीले आइतबार क्रिस्टल प्यालेसलाई २-० ले हराउँदै एफए कपको फाइनलमा स्थान बनाएको छ । 

थोमस टचेलको टोली एफए कपको फाइनलमा प्रवेश गरेको यो लगातार तेस्रो पटक हो । पछिल्लो पाँच सिजनमा चेल्सी चार पटक एफए कपको फाइनल प्रवेश गरेको छ । फाइनलमा चेल्सीले लिभरपुलको सामना गर्नेछ ।

 लिभरपुल शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई ३-२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

६५औं मिनेटमा रुबेनले चेल्सीका लागि गोल खाता खोलेका थिए । सन् २०१९ मे पछि रुबेनले चेल्सीका लागि गरेको यो पहिलो गोल हो । त्यसको ११ मिनेटपछि माउन्टले चेल्सीको अग्रता दोब्बर पारेका थिए ।

यस सिजन चेल्सी र लिभरपुल उपाधिका लागि भिड्न लागेको यो दोस्रो पटक हो । यसअघि इङ्लिस लिग कपको फाइनलमा चेल्सीले लिभरपुललाई पेनाल्टी सुटआउटमा ११-१० को नतिजा सुम्पिएको थियो ।

फाइनल खेल मे १४ मा हुनेछ । चेल्सीले प्रिमियर लिगमा बुधबार आर्सनलको सामना गर्नेछ ।