एन्फा चुनाव

एन्फाको चुनाव सर्यो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को जेठ १५ गते हुने तय भएको चुनाव असार ६ गतेका लागि सरेको छ । पुस २३ गते बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव जेठमा गर्ने निर्णय गरेको थियो ।

सानेपास्थित हेरिटेज गार्डेनमा भएको चुनावी विशेष साधरण सभाले निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति गठन गर्नुका साथै उम्मेद्वारको मनोनयन शुल्क निर्धारण गरेको थियो ।

पटक–पटक स्थगित भएपछि गत चैत १५ गते सम्पन्न विशेष साधारण सभाले चुनाव जेठ १५ गते नै गर्ने निर्णय गरेको थियो । तर, एन्फा सचिवालयले विशेष साधारण सभाको निर्णय उल्टाउँदै कार्यसमिति सदस्यहरू, जिल्ला र क्लबहरूलाई पठाएको ‘केन्द्रिय कार्यसमितिको निर्वाचन प्रक्रिया सम्बन्धी कार्यक्रम’मा एन्फाको चुनाव असार ६ गते गर्ने जनाएको छ ।

जिल्ला, क्लब तथा अन्य संघहरुको निर्वाचनको हकमा भने पुरानै निर्णयलाई निरन्तरता दिइएको छ ।

त्यसअघि एन्फाको गत फागुनमै हुने भनिएको विशेष साधारण सभा दुई पटक स्थगित भएको थियो । एन्फाले यसअघि फागुन आठका लागि विशेष साधारण सभा तय गरेको थियो ।

एन्फामा महासचिव इन्द्रमान तुलाधरले फिफा र एएफसीले दिएको निर्वाचन निर्देशिकामा केही अन्यौलता भएकाले उनीहरुसँगको जुम मिटिङपछि साधारण सभा स्थगित भएको बताएका थिए ।