इङ्ल्यान्डले थप एक धक्का लगाउनुपर्छ : हेन्डरसन

लन्डन, (खेलाडी)- जोर्डन हेन्डरसनले इङ्ल्यान्डको पुनरागमन गर्ने क्षमताको प्रशंसा गर्ने क्रममा टोलीबाट जारी युरोपियन च्याम्पियनसिप (युरो २०२०) मा थप एक पटक बल गर्नुपर्ने आवश्यकता औल्याएका छन् । 

बुधबार राति लन्डनको वेम्बली रंगशालामा डेनमार्कविरुद्ध भएको सेमिफाइनलमा इङ्ल्यान्डले सुरुमा गोल खाएर पनि २१ को जित हासिल गरेको थियो । गोल खाएको केहीबेरमै विपक्षी खेलाडीको आत्मघाति गोलमार्फत इङ्ल्यान्डले पहिलो हाफमै खेल ११ को बराबरीमा ल्याएको थियो । 

अतिरिक्त समयमा पाएको विवादास्पद पेनाल्टीका कारण इङ्ल्यान्डले जित हासिल गरेको थियो । इङ्ल्यान्डका कप्तान ह्‍यारी केनको प्रहार डेनिस गोलपिकर कास्पर स्माइकलले जोगाएका थिए । तर रिबाउन्डमा प्राप्त बललाई केनले विजयी गोलमा परिणत गरेका थिए । 

सुरुमा गोल खानाका बावजुद आफ्ना टिम सहयात्रीहरुले पुनरागमनका लागि गरेको उर्जावान प्रयास प्रशंसनीय भएको हेन्डरसनले बताए । 

‘उनीहरुले फ्रिकिकमा उत्कृष्‍ट गोल गरेका थिए । तर हाम्रा खेलाडीहरुले राम्रो प्रतिक्रिया जनाए । पक्कै पनि हाम्रो प्रतिक्रिया सकारात्मक पक्ष थियो,’ हेन्डरसनले सेमिफाइनलको जितपछि भने, ‘तर यत्तिमै हामी सन्तुष्‍ट भएर बस्‍नु हुँदैन । प्रतियोगितामा हामीले अब एउटा निर्णायक र अन्तिम धक्का दिनुपर्छ ।’

आइतबार राति वेम्बलीमा हुने फाइनलमा इङ्ल्यान्डले रोबर्टो मान्चिनीको इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इङ्ल्यान्ड मुख्य प्रतियोगिताको फाइनल पुगेको यो ५५ वर्षपछि पहिलो पटक हो । यसअघि १९६६ मा वेम्बलीमै विश्‍वकपको उपाधि जितेयता इङ्ल्यान्डले कुनै पनि ठूलो अन्तर्राष्‍ट्रियि प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सकेको थिएन ।