किलियन एमबाप्पे

म फुटबलमा इतिहास रच्न चाहन्छुः एमबाप्पे

दुबई । ग्लोबल सकर अवार्ड २०२१ को उत्कृष्ट खेलाडी घोषित भएपछि फ्रेन्च स्ट्राइकर किलियन एमबाप्पेले फुटबलमा इतिहास रच्ने आफ्नो उद्देश्य रहेको बताएका छन् ।

सयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा सोमबार साँझ सम्पन्न अवार्ड समारोहमा एमबाप्पे वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

‘म अझै धेरै जित्न चाहन्छु । विश्व फुटबलमा धेरै उत्कृष्ट खेलाडीहरु छन् । र, यदि सुतेर बस्ने हो भने कोही अर्कोले मलाई उछिन्नेछ,’ एमबाप्पेले भने, ‘मैले क्लब र अन्तर्राष्ट्रिय स्तरमा निकै राम्रो टोलीबाट खेल्न पाएको छु । मैले के जितेँ भन्नेबारे सोच्दिन । मेरो उद्देश्य जितको लयलाई निरन्तरता दिनु हो । म फुटबलमा इतिहास रच्न चाहन्छु ।’

अवार्ड समारोहमा आफ्नो वक्तव्य टुङ्ग्याउनु पूर्व एमबाप्पेले आफू विश्वकप दुई वर्षमा गर्ने फिफाको प्रस्तावको विपक्षमा रहेको बताए । यद्यपि, उनले फुटबलमा भिडियो असिस्टेन्ट रेफ्री (भार) को प्रयोग सकारात्मक भएको टिप्पणी गरे ।