केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता

आयोजक केपी ओली एफसीको विजयी सुरुआत

काठमाडौं । आयोजक केपी ओली एफसीले केपी ओली  कप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

केपी ओली एफसीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न उद्घाटन खेलमा लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई ३-० ले निरास बनाएको हो ।

जितसँगै केपी ओली एफसीले क्वार्टरफाइनलमा स्थान बनाउँदा पराजित चर्च ब्वाइज बाहिरिएको छ । केपी ओली एफसीलाई जित दिलाउन जय गुरुङले दुई तथा फोडे फोफनाले एक गोल गरे ।

५८औं मिनेटमा फोफनाको गोलमार्फत केपी ओली एफसीले अग्रता लिएको थियो । फोफनाले रोहन कार्कीको थ्रु पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरे ।

६८औं मिनेटमा जयले टोलीको अग्रता दोब्बर बनाए । जयले फोफनाको क्रसलाई पोस्टको दिशा दिएका हुन् ।

८०औं मिनेटमा जयले ब्यक्तिगत दोस्रो गोल गर्दै केपी ओली एफसीलाई ३-० को सहज जित दिलाए । उनले चन्दन दासको कर्नरमा चर्च ब्वाइजका गोलकिपर दीप कार्की र रक्षकबीच तामेल नमिलेको अवस्थाको फाइदा उठाउँदै हेड गोल गरेका थिए ।

केपी ओली एफसीले क्वार्टरफाइनलमा जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तगर्तत आइतबार दुई खेल हुनेछन् । पहिलो खेलमा न्युरोड टिम (एनआरटी) तथा दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् ।