फ्रेन्च लिग वान

पिएसजीको सहज जित

काठमाडौं । १० खेलाडीमा समेटिएको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा आइतबार घरेलु टोली लि हाभ्रेमाति २ ० को सहज जित दिलाए ।

जितसँगै १४ खेलमा ३३ अंक जोडेको पिएसजी शीर्ष स्थानमा कायम छ । हार ब्यहोरेको लि हाभ्रे समान खेलबाट १६ अंकका साथ नावौं स्थानमा छ ।

ओसियन रंगशालामा पिएसजीलाई जित दिलाउन कप्तान केलियन एमबाप्पे र भिटिन्हाले गोल गरे ।

खेलको १० औं मिनेटमा गोलकिपर जियानलुइजी डोनारुम्माले रातो कार्ड ब्यहोर्दा पिएसजी १० खेलाडीमा समेटियो । पेनाल्टी बक्स बाहिर आएर हातले बल छेकेपछि रेफ्रीले डोनारुम्मालाई सिधै रातो कार्ड देखाएका थिए ।

२३ औं मिनेटमा एक्बाप्पेको गोलमार्फत पिएसजीले अग्रता लियो । उनले ओस्माले डेम्बेलेको पासलाई सदुपयोग गरेका थिए ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा भिटिन्हाले गोल गर्दै पिएसजीलाई २-० को जित दिलाए । उनले म्यानुएल युग्रेटको पासलाई पोस्टको दिशा दिएका हुन् ।