नेपाल सुपर लिग

नेपाल सुपर लिगः एरिकको दर्शनीय गोलमा बुटवलको पहिलो जित

काठमाडौं । मार्की तथा कप्तान एरिक विष्टको दर्शनीय गोलमा बुटवल लुम्बिनी एफसीले जारी नेपाल सुपर लिग  (एनएसएल)को दोस्रो  संस्करणमा पहिलो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा बुटवलले स्पोर्टिङ इलाम एफसी डी मेचीलाई २-१ ले पराजित गर्दै स्पष्ट तीन अंक जोडेको हो ।

जितसँगै बुटवल तालिकाको सातौं स्थानमा उक्लिएको छ । तीन खेलबाट बुटवलको तीन अंक छ । यसअघिका दुबै खेलमा बुटवल पराजित भएको थियो । पहिलो खेलमा ललितपुरसँग २-० ले पराजित बुटवलले दोस्रो खेलमा धनगढीविरुद्ध १-० को  हार ब्यहोरेको थियो ।

इलामको यो दोस्रो हार हो । समान खेलमा इलामको पनि तीन अंक छ । तर, गोल भिन्नताका आधारमा इलाम बुटवलभन्दा अगाडि छ । उद्घाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग १-० ले निराश बनेको इलामले दोस्रो खेलमा झापा एफसीलाई १-० ले हराएको थियो ।

खेलको तेस्रो मिनेटमै इलामलाई भाग्यले साथ दिएन । फरवार्ड फोडे कामराको सुन्दरको क्रसमा पेनाल्टी बक्समा रहेका भरत खवासले गरेको वान टच प्रहार पहिलो बारमा लाग्दै फर्किएको थियो ।

छैटौं मिनेटमा मिडफिल्डर अब्डौल्जे बाले आइकोनिक खेलाडी आशिष लामालाई ३५ यार्ड नजिकै फाउल गरेपछि बुटवलले फ्रिकिक प्राप्त गरेको थियो । तर, एरिकको प्रहार इलामका गोलकिपर विकेश कुथुले सहजै बचाए ।

२६ औं मिनेटमा फरवार्ड एमाथ एन्डअको प्रहारले दोस्रो बारको जाली चुम्न नसक्दा बुटवलको खतरा टरेको थियो । ३५ औं मिनेटमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेका आशिषको फ्रिकिक प्रहार विकेशले बचाए ।

३८ औं मिनेटमा रक्षक एर्नेस्ट टाम्पीले २० यार्ड निजकै फोडेलाई लडाएका थिए । प्राप्त प्रिकिक फोडे नै लिए । तर, पोस्टको दिशा भने दिन सकेनन् ।

दोस्रो हाफको चौंथो मिनेटमै बुटवलले स्टेफन समीर बिनोङको गोलमा अग्रता लियो । बक्सभित्र इलामका तीन रक्षकलाई बिट गर्दै जिलेस्पीजंग कार्कीले बिनोङलाई सुन्दर पास मिलाइदिएका थिए । जसको फाइदा उठाउँदै बक्सभित्र कुनै पनि निगरानीमा नरहेका बिनोङले जिलेस्पीको पासलाई सदुपयोग गर्दै वान टच गोल गरेका थिए ।

५८ औं मिनेटमा गोलकिपर मोहामडुले पेनाल्टी प्रहार बचाएपछि इलामले बराबरीको मौका खेर फाल्यो । फोडेले दोस्रो बारमा गरेको प्रहार मोहामडुले बचाएका थिए । यसअघि एमाथको कट्ब्याकमा फोडेले गरेको प्रहार मोहामडुले बचाएका थिए । तर, बक्सभित्र प्राप्त रिबाउन्ड बललाई दीपेश घलेले पोस्टको दीशा दिन खोज्दा रक्षक एर्नेस्टले ह्यान्ड गर्न पुगेका थिए ।

पेनाल्टी खेर फालेको १० मिनेटपछि इलाम अर्को सुन्दर मौकामा गोल गर्न असफल रह्यो । यसपाली एमाथको कट्ब्याकमा मिडफिल्डर अब्दौल्जेको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।

७६ औं मिनेटमा इलामलाई फेरि एकपटक भाग्यले साथ दिएन । राइट विंग्सबाट एमाथले दिएको कट्ब्याक बुटवलका रक्षक गौरव श्रेष्ठले नियन्त्रण गर्न खोज्दा बारमा लाग्दै बाहिरिन पुग्यो । त्यसको अर्को मिनेटमै बक्सको केही परबाट फोडेले गरेको प्रहार मोहामडुले नियन्त्रणमा लिए ।

७८ औं मिनेटमा बुटवलले बराबरी गोल फर्कायो । मिडफिल्डर सन्तोष खत्रीको टप कर्नर प्रहार मोहामडुले बचाएका थिए । तर, नियन्त्रण गर्न नसक्दा अब्दौल्जा बाले ट्याप इन गोल गरे । त्यसको आठ मिनेटपछि भर्खंरै मैदान प्रवेश गरेका नवीन लामाको फ्रिकिक मोहामडुले बचाउँदा इलाम अग्रता लिनबाट बन्चित भयो ।

८७ औं मिनेटमा एरिकको दर्शनीय गोलमा बुटवलले खेलमा पुनः अग्रता लियो । उनले करिब ३० यार्डबाट सुन्दर टप कर्नर फ्रिकिक गोल गरे । यसअघि बिनोङलाई एमाथले फाउल गरेपछि बुटवलल फ्रिकिकको अवसर प्राप्त गरेको थियो ।