इङ्लिस प्रिमियर लिग

प्रिमियर लिगमा सात खेल हुँदै, आर्सनललाई न्युक्यासलको चुनौती

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा आज (शनिबार) सात खेलहरु हुँदैछन् । विभिन्न समयमा हुने खेलमा सबैभन्दा रोचक प्रतिस्पर्धा न्युक्यासल युनाइटेड र आर्सनलबीच रहनेछ ।

न्युक्यासल मैदान सेन्ट जेम्स पार्कमा हुने खेल नेपाली समयअनुसार राति सवाँ ११ बजे हुनेछ । प्रिमियर लिगको १०औँ चरण समाप्त हुँदा आर्सनल दोस्रो स्थानमा छ ।

आर्सनलले १० मध्ये सात खेल जितेको छ । न्युक्यासल १७ अंकसहित छैटौं स्थानमा छ । घरेलु मैदानमा आर्सनललाई हराउँदै न्युक्यासल तालिकामा सुधार गर्ने लक्ष्यमा छ । आर्सनल भने उपाधि दाबेदारी कायम राख्ने योजनामा छ ।

दिनको पहिलो खेलमा सवाँ ६ बजे म्यानचेष्टर युनाइटेडलाई फुलहमले आतिथ्य गर्नेछ । लय समात्न नसकेको युनाइटेड १५ अंकसहित आठौं स्थानमा छ । फुलहम १४औं स्थानमा छ ।

राति पौने ९ बजे एकै समय पाँच खेल हुनेछन् । साविक विजेता म्यानचेष्टर सिटीले घरमा बर्नामाउथलाई स्वागत गर्नेछ । सिटी २४ अंकसहित तेस्रो स्थानमा छ ।

अन्य खेलमा ब्रेन्टफोर्ड र वेष्ट हम युनाइटेड, बर्नली र क्रिष्टल प्यालेस, एभर्टन र ब्राइटन तथा सेफिल्ड युनाइटेड र उल्भ्सबीच प्रतिस्पर्धा हुनेछ ।