नेपाली फुटबल

अध्यक्ष आजको मितिबाट निलम्बनमा पर्नुभयोः उपाध्यक्ष खड्का

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष वीरबहादुर खड्काले अध्यक्ष पंकजविक्रम नेम्बाङ बिधानअनुसार आजबाट निलम्बनमा परेको र कुनै कार्य गर्न नपाउने बताएका छन् ।

बुधबार बसेको एन्फाको आपतकालिन बैठकले अध्यक्ष नेम्बाङमाथि परेको अविश्वासको प्रस्तावलाई पारित गर्दै कात्तिक २३ मा हेटौडामा साधारणसभा गर्ने निर्णय गरेको छ ।

अध्यक्ष नेम्बाङले यसै साधारणसभामा आफ्नो बर्खास्तगीको प्रस्ताव ‘फेस’ गर्ने भएका छन् । भदौं २५ मा ४० प्रतिशत सदस्यले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तगीको निवेदन दर्ता गराएका थिए ।

वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘आजको मितिबाट एन्फाले अविश्वास प्रस्ताव बैधानिकता मानेको छ । अब, अध्यक्ष ज्यू आजकै मितिबाट निलम्बनमा हुनुहुन्छ । कुनै कार्य गर्न पाउनुहुन्न ।’

एन्फाको धारा ४१ को ५ मा भनिएको छ, ‘बर्खास्त (अस्थायी वा स्थायी) भएको ब्यक्तिहरु (निकायका सदस्यहरु) आफ्नो जिम्मेवारीबाट तत्काल मुक्त हुनेछन् ।’

यस्तैगरी खड्काले ४० प्रतिशत सदस्यले गरेको अविश्वासको प्रस्ताब कार्यसमितिका ११ सदस्यले काट्न नपाउने बताए । ‘४० प्रतिशत सदस्यको प्रस्ताब कार्यसमितिका ११ सदस्यले काट्न पाउँदैनन् । यो विधानसम्मत छैन,’ खड्काले भनेका छन् ।

उनले प्रतियोगिता आयोजनाको संयोजक आफू रहेको र अहिले उपाध्यक्ष दीपक खतिवडालाई बनाउँनु गैरजिम्मेवारी भएको बताएका छन् । ‘एन्फाको प्रतियोगिता आयोजना संयोजक म हो । अहिले दीपक जीलाई राखिएको छ । अध्यक्षले इख राखेर गैरजिम्मेवारी निर्णय गरेका छन्,’ खड्काले भने ।

बुधबार कोरम नपुगेका कारण ११ बजे सातदोबाटोस्थित एन्फा मुख्यालयमा बोलाइएको बैठक अपराह्न साढे ४ बजे बसेर पाँच बजे पूरा भएको थियो ।

बैठकले हेटौडामा हुने साधारणसभाबाट अध्यक्ष नेम्बाङको बर्खास्ती सम्बन्धमा निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ । यसैगरी महासचिव किरण राईको बर्खास्तगी बिशेष साधारणसभामा प्रस्तुत नहुने निर्णय गरेको छ । 

‘४० प्रतिशत सदस्य संस्थाहरुले मिति २०८० भदौ २५ गते संघमा दर्ता गराएको संघको अध्यक्ष र महासचिवको बर्खास्तको प्रस्ताव उपर छलफल गर्दा सदस्य संस्थाहरुको माग बमोजिम मिति २०५० कार्तिक २३ गते मकवानपुरको हेटौडामा विशेष साधारण सभा आयोजना गरी एक मात्र विषय सूची अध्यक्ष पंकज विक्रम नेम्वाङ्गको बर्खास्ती सम्बन्धमा निर्णयार्थ पेश गर्ने निर्णय भएको छ । महासचिव किरण राईको बर्खास्तीको प्रस्ताबको मागको सम्बन्धमा एन्फाको विधान अनुरुप महासचिवको नियुक्ती र बर्खास्तीको सम्बन्धमा अध्यक्षको प्रस्ताबमा मात्र कार्यसमितिले निर्णय गर्ने अधिकार क्षेत्र भित्र पर्ने भएको हुदाँ महासचिवको बर्खास्तको प्रस्ताब पेश हुदाँ संघको विधानको उल्लङ्घन हुने भएकोले उक्त प्रस्ताबलाई विशेष साधारण सभामा प्रस्तुत नगर्ने निर्णय भएको छ,’ एन्फाले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ।

सदस्य मनिष जोशीले अन्तिममा संस्थापन पक्षलाई साथ दिएपछि कोरम पुगेको थियो । यसअघि उनले दिनभर संस्थापन इतर पक्षलाई साथ दिने बताउँदै आएका थिए । तर, अन्तिममा एन्फा पुगेर क्षमा याचनासहित माइन्युटमा हस्ताक्षर गरेको उपाध्यक्ष दावा लामाले बताएका छन् ।  

यसअघि बैठकका लागि २१ सदस्यीय कार्यसमितिका १० जना एन्फा मुख्यालयमा उपस्थित भएका थिए । तर, बहुमतको लागि एक सदस्य नपुग्दा बैठक बस्न सकेको थिएन ।

बैठकका लागि अध्यक्ष पंकजविक्रम नेम्वाङ, दुई उपाध्यक्ष दीपक खतिवडा र दावा लामा तथा सदस्यहरु महेन्द्र क्षेत्री, विकास श्रेष्ठ, पुरुषोत्तम थापा, भरत बुढ थापा, टिका लामा, सरिला श्रेष्ठ र दीपेन्द्र धिमाल एन्फा पुगेका थिए ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्ष विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार), तथा सदस्यहरु अनिल मल्ल, रबिन्द्र चन्द, भोजराज शाही, रुपेश अधिकारी, रमेश व्यन्जनकार, मणिराज विष्ट र पेमा लामा भने बैठकमा सहभागी भएनन् ।