सहिद स्मारक ‘ए’ डिभिजन लिग

पहिलो हाफमा मनाङलाई अग्रता

फाइल फोटो

काठमाडौं । मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा खेलको १६औं मिनेटमा अहमद हिजाजीको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । मोसेसको पासमा हिजाजीले पेनाल्टी बक्स भित्रबाट वान टचमै उत्कृष्ट फिनिसिङ गरेका थिए।

२१औं मिनेटमा हिजाजीको पासमा भित्रबाट मोसेजको प्रहार बार माथिबाट बाहिरिँदा पुलिसले अग्रता दोब्बर बनाउने अवसर गुमायो ।

२३औं मिनेटमा हिजाजीको पासमा मोसेजको प्रहार मनाङका गोलकिपर दीप कार्कीले बचाए । मोसेसले सिक्स यार्ड बक्सबाट वान टचमै बल प्रहार गरेका थिए ।

३३औं मिनेटमा रोशन राना मगरले मनाङलाई बारबरीमा ल्याए । एकल प्रयासमा बल अगाडि बढाउदै रोशनले गरेको शक्तिशाली प्रहारले सिधै जाली चुमेको थियो । पेनाल्टी क्षेत्रबाट रोशनले हानेको प्रहारमा पुलिस गोलकिपर शत्रुधन चौधरीले प्रतिक्रिया जनाउने कुनै अवसर नै पाएनन्।

४४औं मिनेटमा साइदजमोलले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार गोलकिपर शत्रुधनले पन्च गर्दै बाहिर पठाए ।

४५औं मिनेटमा  साइदजमोलले मनाङलाई २-१ ले अगाडी बढाए । साइदजमोलले पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा गरेकाे प्रहारले सिधै जाली चुमेको थियो ।

मनाङ १४ खेलमा पाँच जित, चार बराबरी र ६ हारको नतिजासहित १९ अंकका साथ आठौं स्थानमा छ । पुलिस १५ खेलमा चार जित, तीन बराबरी र आठ हारको नतिजासहित १५ अंकका साथ पुछारमा छ ।