सहिद स्मारक ‘ए’ डिभिजन लिग

एनआरटीसँग बराबरीमा रोकियो एफिएफ

फाइल फोटो

काठमाडौं । अन्तिम समयमा एडमा डोम्बियाले गोल गरेपछि विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी)विरुद्ध हारबाट जोगिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सका बिहिबारको खेल १-१ को बराबरीमा सकिएको हो । एनआटी अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य बन्यो ।

यसबराबरीसँगै १४ खेलमा ५ जित, ४ बराबरी र ५ हारको नतिजा निकालेको एपिएफ १९ अंक जोडेर सातौं स्थानमा छ । एनआरटी समान खेलमा ४ जित, ५ बराबरी र ५ हारको नतिजासहित १७ अंकका साथ नवौं स्थानमा छ ।

खेलको ५९औं मिनेटमा लालुन्जामाको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो । ललुन्जामाले कप्तान विक्रम धिमालको क्रसलाई हेडमार्फत पोस्टो दिशा दिएका थिए ।

इन्जुरी समयमा सनिश श्रेष्ठको क्रसलाई डोम्बियाले हेडमार्फत गोलमा पराजित गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

जारी लिगमा एपिएफविरुद्ध एनआरटीले अपराजित यात्रा कायम राखेको छ । पहिलो लेगमा एनआरटी १-० ले विजयी भएको थियो ।