सहिद स्मारक ‘ए’ डिभिजन लिग

संकटामाथि मछिन्द्रकाे सहज जित

फाइल फोटो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साबिक विजेता मछिन्द्र क्लबले संकटा क्लबमाथि ३-१ को जित निकालेको छ ।

यस जितसँगै मछिन्द्र १४ खेलमा ५ जित, ६ बराबरी र ३ हारको नतिजासहित २१ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको संकटा समान खेलबाट ४ जित, ४ बराबरी र ६ हारको नजितासहित १६ अंकका साथ ११औं झरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार सम्पन्न खेलमा मछिन्द्रलाई जित दिलाउन देवेन्द्र तामाङ, ओलावाले अफिज  र विमल घर्ती मगरले समान १ गोल गरे । संकटाका लागि जुनियर एनकेन गुएले १ गोल फर्काए ।

खेलको चौथो मिनेटमै देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए । देवेन्द्रले युटा सुजुकीको कर्नमा पुजन उपरकोटीको प्रहार संकटाका गोलकिपर टिकेन्द्र थापालले बचाउने प्रयास गर्दा प्राप्त रिबाउन्डलाई पोस्टको दिशा दिएका थिए ।

६९औं मिनेटमा ओलावालेले मछिन्द्रको अग्रतालाई दोब्बर बनाए । ओलावालेले शौरव लिम्बुको क्रसलाई गोलमा परिणत गरेका थिए ।

७८औं मिनेटमा संकटाका जुनियरले गोल गर्दा खेल २-१ को स्थितीमा आयो । ८९औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई ३-१ को जित दिलाए ।

मछिन्द्रले संकाटविरुद्ध लिग डबल ( दुई वटै लेगमा पराजित) गरेको छ । पहिलो लेगमा मछिन्द्र २-१ ले विजयी भएको थियो ।