सहिद स्मारक ‘ए’ डिभिजन लिग

मनाङको हारको शृंखला अन्त्य, आर्मी पराजित

फाइल तस्बिर

काठमाडौं । कोफी टिमोथी कुडोले गरेको गोल निर्णायक बन्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबको हारको शृंखला सातौं खेलमा आएर अन्त्य भएको छ ।

 त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार कीर्तिमानी ८ पटकको च्याम्पियन मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० ले हराएको हो।
यस जितसँंगै १४ खेलमा १८ अंक जोडेको मनाङ छैटौं स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको आर्मी समान खेलमा २० अंकका साथ पाँचौं स्थानमा छ ।  

कोफीलले खेलको इन्जुरी समयमा गोल गरे । उनले विजय श्रेष्ठको पासमा पेनाल्टी बक्स भित्रबाट उनले गोल गरेका हुन् ।  

लिगको सातौं चरणसम्म अपराजित मनाङले त्यसपछिका खेलमा सातदोबाटो, जावलाखेल, त्रिभुवन आर्मी, खुमलटार, नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेसँग पराजय ब्यहोरेको थियो ।

क्लब इतिहासमै खराब प्रदर्शन गरेका करण मुख्य प्रशिक्षक किरण श्रेष्ठले राजीनामा दिएका थिए । मनाङले आर्मीविरुद्ध मुख्य प्रशिक्षक बिनै खेलेको थियो ।  

पहिलो लेगमा आर्मीले मनाङलाई १-०ले नै हराएको थियो ।