इङ्लिस प्रिमियर लिग

आर्सनल बराबरीमा रोकियो

लन्डन । लिभरपुलसँग आइतबार २-२ को बराबरीमा रोकिएसँगै आर्सनलले इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानको अग्रता बढाउने अवसर गुमाएको छ । 

शनिबार दोस्रो स्थानको म्यानचेस्टर सिटीले साउथहमटनमाथि ४-१ को सहज जितसहित शीर्ष स्थानको आर्सनलसँगको दुरी ५ अंकमा झारेको थियो । लिभरपुलमाथिको जितले आर्सनलले सो दुरी ८ अंकमा पुर्याउने थियो । तर २-० को अग्रताका बाबजुद लिभरपुलसँगको बराबरीपछि आर्सनल र सिटीबीचको दुरी ६ अंकमा सीमित भएको छ ।

आर्सनलको ३० खेलमा ७३ अंक छ । दोस्रो स्थानको सिटीको ६७ अंक छ भने तेसो स्थानको न्युक्यालस युनाइटेड र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको समान ५६ अंक छ । सिटीले आर्सनलको भन्दा एक खेल कम खेलेको छ । लिभरपुल २९ खेलमा ४४ अंकसहित आठौं स्थानमा छ । 

उपाधि रक्षाको लक्ष्यमा रहेको सिटीका लागि भने लिभरपुल र आर्सनलबीचको नतिजाले फाइदा पुर्याएको छ । 

आठौं मिनेटमा गाब्रियल मार्टिलेनीले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । २८औं मिनेटमा ग्राब्रियल जिजसले आर्सनलको अग्रता दोब्बर पारेका थिए । 

४२औं मिनेटमा मोहम्मद सलाहको गोलमा लिभरपुलले खेलमा फर्कने संकेत गरेको थियो । ५४औं मिनेटमा सलाहले पेनाल्टीको अवसर गुमाएसँगै लिभरपुलले खेलमा फर्कने सुनौलो अवसर गुमायो । 

खेल सकिन ३ मिनेट बाँकी रहँदा रोबेर्टो र्फिमिनोले गरेको गोलमा लिभरपुल खेलमा फर्किएको थियो ।