इङ्लिस प्रिमियर लिग

डि जोङ भित्र्याउने चेल्सीको इन्छा

काठमाडौं ।  इङ्लिस क्लब चेल्सीका मालिक टोड बोहली आगामी जुलाई ट्रान्सफर विन्डोमा स्पेनिस क्लब बार्सिलोनाका डच मिडफिल्डर फ्रेन्की डि जोङलाई अनुबन्ध गर्न इच्छा देखाएका छन् ।

टोलीको प्रदर्शन सन्तोषजनक हुन नसकेपछि चेल्सी अझै नयाँ खेलाडी भित्र्याउने तयारीमा छ । डि जोङलाई   भित्र्याउन  चेल्सी ठुलो रकम तिर्न तयार रहेको फुटबल इनसाइडरले बताएको छ ।

चेल्सीले गएको जनवरी ट्रान्सफल विन्डोमा इन्जो फर्नान्डेज, जाओ फेलिसक्स जस्ता खेलाडीलाई अनुबन्ध गरेको थियो ।

२५ वर्षिय डि जोङलाई गएको जनवरी ट्रान्सफर विन्डोमै अर्को इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले अनुबन्धको प्रयास गरेको थियो । 

युनाइटेडले आगामी जुलाई ट्रान्सफर विन्डोमा पुनः डि जोङ भित्र्याउने योजनालाई अगाडी बढाउन सक्ने विभिन्न सञ्चारमाध्यमले बताएका छन् । आर्थिक समस्याबाट गुज्रिरहेको बार्सिलोना पनि डि जोङलाई अन्य क्लबमा पठाउन चाहन्छ ।

डि जोङले भने क्लबसँगको सम्झौता सन् २०२६ सम्म रहेकाले अहिले नै क्याम्प नोउ छाड्ने इच्छा नरहेको बताएका छन् ।