सहिद स्मारक ‘ए’ डिभिजन लिग

अग्रता जोगाउन नसक्दा मछिन्द्र पहिलो खेलमै पराजित

फाइल तस्बिर

काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ को पहिलो खेलमै पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित  दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा मछिन्द्रले जावलाखेल युथ क्लबसँग ३-१ को पराजय ब्यहोरेको हो ।

यस जितसँगै जावलाखेलले तीन अंक जोड्दा लिग उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा रहेको मछिन्द्रलाई भने पहिलो खेलमै धक्का लागेको छ ।

खेलको २३ औं मिनेटमा रक्षक देवेन्द्र तामाङको उत्कृष्ट फ्रिकिक गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । 

 ५९ औं मिनेटमा स्ट्राइकर हिसुब थपलियाले जावलाखेललाई १-१ को बराबरीमा ल्याएका थिए । फोडे फोफानाले मध्यभागबाट दिएको सुन्दर पासलाई हिसुबले गोलमा परिणत गरेका हुन् ।

बराबरी गरेको पाँच मिनेटपछि नै जावलाखेलले २-१ को अग्रता लिएको थियो । मछिन्द्रका अनुभवी गोलकिपर विशाल श्रेष्ठबाट बल क्लियर गर्ने क्रममा गल्ती हुन पुग्दा एनकोटो मासोएबीले सहज गोल गरेका थिए ।

८१ औं मिनेटमा  कप्तान सिमान्त थापाले गोल गर्दै जावलाखेलाई ३-१ को जित दिलाए । डिबक्स नजिकै अभिषेक गुरुङले  फोफानालाई  लडाएपछि जावलाखेलले फ्रि किक पाएको थियो । हिसुबको फ्रिकिकमा सिमान्तले उत्कृष्ट हेडर गरेका थिए ।

यो हारसँगै मछिन्द्रको लिगमा १९ खेलसम्मको अपराजित यात्रामा पनि पुर्ण विराम लागेको छ ।  मछिन्द्रले पछिल्लो पटक २०७६ को लिगमा हिमालयन शेर्पा क्लबसँग पराजय ब्यहोरेको थियो ।