सहिद स्मारक ‘ए’ डिभिजन लिग

खेलाडीले टोलीको रणनिती अनुसार खेल्न सकेनन्ः सहायक प्रशिक्षक तामाङ

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका सहायक प्रशिक्षक राजु तामाङले खेलाडीले टोलीको रणनिती अनुसार खेल्न नसकेको बताएका छन् ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९  अन्तर्गत त्रिपुरेश्वरस्थित दरथ रंगशालामा आइतबार सम्पन्न पहिलो खेलमा संकटा क्लबसँग गोलरहित बारबरीमा रोकिएको खेलपछि आयोजित पत्रकार सम्मेलनमा तामाङले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘ खेलाडीले टोलीको रणनिती अनुसार खेल्न सकेनन्,’ तामाङले भने,‘ सायद पहिलो खेल भएर पनि होला । आशा छ आगामी खेलमा राम्रो प्रदर्शन हुनेछ । लिगमा अरु टोलीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् त्यसैलै लिग उपाधि जित्ने हो भने टोलीमा रहेका कमीकमजोरीहरुलाई सुधार गर्नुपर्छ ।’

यसैगरी संकटाका मुख्य प्रशिक्षक सल्यान खड्कीले आफू एक अंकले पनि खुसी रहेको बताएका छन् ।

‘हामीले धेरै अवसरहरु सिर्जना गरेका थियौ, तर त्यो गोलमा भने परिणत हुन सकेन । एक अंंकले पनि म खुसी छु’, खड्गीले भने,‘ अर्को खेलबाट आयुष घलान पनि टोलीमा उपलब्ध हुनेछन् ।  आशा छ आगामी खेलमा हामीले राम्रो नतिजा ल्याउने छौं ।’

युवा मिडफिल्डर आयुषले चोटका कारण आर्मीविरुद्धको पहिलो खेल गुमाएका थिए ।