नेपालविरुद्ध भारत

नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाल र भारतबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज (बुधबार) आयोजना हुँदैछ । खेल नेपाली समयअनुसार चेन्नईस्थित जवहारलाल नेहरु रंगशालामा राति पौने आठ बजे सुरु हुनेछ ।

गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा ३० सदस्यीय टोली भारत पुगेको छ ।  दुई मैत्रीपूर्ण खेललाई दुबै देशले आगामी ओलम्पिन छनोटको तयारी रुपमा लिएका छन् ।

नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले भारतलाई मैत्रीपूर्ण खेल आयोजनाको बधाई दिँदै तयारी राम्रो भएको बताएका छन् । ‘भारतसँग हामीले धेरै पटक खेलेका छौं । उनिहरु निकै बलिया छन् । तर, हामीले राम्रो तयारी गरेका छौं,’ खेलको पूर्वसन्ध्यामा थापाले भने । ‘दुई मैत्रीपूर्ण खेलको आयोजनाको लागि भारतलाई धन्यवाद,’ थापाले थपे ।

भारतका प्रशिक्षक थोमस डेनर्वीले नेपाल बलियो टोली रहेको र यो खेल नतिजाको लागि भन्दा पनि राम्रो प्रदर्शन खेल्न खेल्ने बताएका छन् । ‘नेपाल निकै राम्रो गरिरहेको छ । तर, हाम्रो महिला टोलीलाई अन्तर्राष्ट्रिय खेलमा फर्कन यो राम्रो अवसर हो,’ थोमसले भनेका छन् । ‘हाम्रो तयारी ओलम्पिकको हो । हामी नेपालविरुद्ध नतिजाको लागि भन्दा पनि राम्रो प्रदर्शन गर्न चाहन्छौं,’ थोमसले थपे।

भारतले ओलम्पिक छनोटअन्तर्गत समूह जी मा तुर्केमिनिस्तान, कीर्गिस्तानसँग खेल्ने तालिका छन् । समूह सी मा रहेको नेपालले भियतनाम, प्यालेस्टाइन र अफगानिस्तानसँग खेल्नेछ । समूहको शीर्षस्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ । नेपालले पहिलो खेल आगामी अप्रिलमा प्यालेस्टाइनसँग खेल्दै सुरुवात गर्नेछ ।

भारतविरुद्ध प्रशिक्षक थापाले अट्याकिङ खेल खेल्न सक्छन् । सावित्रा भण्डारीलाई अट्याकिङ भूमिका दिन सक्छन् । यसैगरी गोलकिपरमा एन्जिला तुम्बाप्पो सुब्बा कप्तानी आर्मब्यान्डसँगै हुनेछिन् ।

रक्षापंक्तिमा गीता राना, हिराकुमारी भुजेल र अमृता जैशी हुनेछन् । राइट ब्याकमा भने विमल वि.क र समिक्षा घिमिरे मध्ये एकले खेल्न सक्छन् । समिक्षाबाट नै थापा सुरुवात गर्न सक्छन् ।

यसैगरी मिडलाइनमा सरु लिम्बू र अनिता केसी हुनेछन् । उनिहरुलाई रश्मिकुमारी घिसिङ, विमला चौधरी र अमिषा कार्कीले साथ दिन सक्छन् । यसैगरी विकल्पमा दीपा शाही, अनिता बस्नेत, प्रीति राई रहनेछन् । नेपालले दोस्रो खेल शनिबार खेल्नेछ ।

नेपालको सम्भावित प्लेईङ ११ 
गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान)
रक्षकः हिराकुमारी भुजेल, गीता राना, अमृता जैशी, समिक्षा घिमिरे
मिडफिल्डरः सरु लिम्बू, अनिता केसी, विमला चौधरी, अमिषा कार्की, रश्मिकुमारी घिसिङ
स्ट्राइकरः सावित्रा भण्डारी