इङ्लिस प्रिमियर लिग

सिटीले आर्थिक नियम उल्लंघन गरेको प्रिमियर लिगको आरोप

काठमाडौं ।  प्रिमियर लिगले चार वर्षको अनुसन्धानपछि म्यानचेस्टर सिटीमाथि सय भन्दा बढी आर्थिक नियम उल्लंघन गरेको आरोप लगाएको छ ।

लिगले सिटीलाई  सन् २००९ देखि २०१८  बीच  नियम उल्लङ्घनको गरेको आरोप लगाएको हो । लिगले सन् २०१८ को डिसेम्बरमा अनुसन्धान सुरु भएदेखि सिटीले सहयोग नगरेको आरोप पनि लगाएको छ ।

यस्तै लिगले यसको थप अनुसन्धानका लागि स्वतन्त्र आयोगलाई  रिपोर्ट बुझाएको पनि बताएको छ ।  गत सिजन सिटीले सन् २००८ मा अबुधाबी युनाइटेडको स्वामित्वमा गए देखि  छैटौं प्रिमियर लिग उपाधि जितेको थियो।

स्वतन्त्र आयोगले जरिवाना, अंक कटौती र क्लबलाई प्रिमियर लिगबाट निष्कासन गर्ने जस्ता सजाय गर्न सक्छ।

प्रिमियर लिगले विज्ञप्तिमा भनेको छ  ‘सिटीले नियमहरू उल्लङ्घन गरेको छ जसमा उनीहरूलाई  क्लबको वित्तीय स्थितिको सही र निष्पक्ष दृष्टिकोण दिने सही वित्तीय जानकारी प्रदान गर्न आवश्यक छ।’

यो जानकारीले क्लब राजस्व कभर गर्दछ, जसमा प्रायोजन आय र सञ्चालन लागतहरू समावेश छन्।

सिटीमाथि सन् २००९-१० देखि २०१२(१३ रोबर्टो मानसिनी प्रशिक्षक हुँदा उनको तथा २०१०-११देखि  १५-१६ काे बीचमा खेलाडीको पारिश्रमिक लुकाएको आरोप छ ।

प्रिमियर लिगले सिटीले २०१३-१४ देखि २०१८-१८  सम्म फाइनान्सियल फेयर प्ले ( एफएफपी) लगायतका  नियमका  साथै २०१५-१६ र २०१७-१८ मा नाफा र दिगोपन सम्बन्धी प्रिमियर लिग नियमहरू उल्लङ्घन गरेको बताएको छ।

सन् २०२० मा युरोपियन फुटबलको  सर्वोच्च निकाय युरोपियन फुटबल महसंघ (युइएफए) ले सन् २०१२ देखि २०१६ को बीचमा एफएफपी नियमको गम्भीर उल्लंघन गरेको ठहर गरेको थियो।

युइएफएले सिटीलाई दुई वर्षको प्रतिबन्ध लगाए पनि पछि कासले त्यो निर्णयलाई उल्टाएको थियो ।