भारतीय क्रिकेट

एक वर्षमा सर्वाधिक कप्तान प्रयोग गर्ने श्रीलंकाको कीर्तिमानसँग भारतको बराबरी

नयाँ दिल्ली । हाल एकदिवसीय र ट्वान्टी २० शृंखलाको लागि वेस्ट इन्डिजको भ्रमणमा रहेको भारतीय टिमले शुक्रबार घरेलु टिमविरुद्ध पहिलो एकदिवसीय खेल खेल्दैछ ।

तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिकसहित वेस्ट इन्डिज पुगेको पाहुना टिम शुक्रबार शिखर धवनको कप्तानीमा मैदान उत्रँदा भारतीय टिमले श्रीलंकाको एक रोचक कीर्तिमानसँग बराबरी गर्नेछ । भारतले एकदिवसीयपछि पाँच खेलको ट्वान्टी २० शृंखला खेल्ने तालिका छ ।

पछिल्लो एक वर्षको अन्तरालमा भारतले सात कप्तान परिवर्तन गरेको छ । यो सँगै भारतले यसअघि श्रीलंकाको नाममा रहेको एक क्यालेन्डर वर्षभित्र सर्वाधिक कप्तान परिवर्तन गर्ने कीर्तिमानसँग बराबरी गरेको छ ।

सन् २०२२ सकिन अझै पाँच महिना बाँकी छ । यस्तोमा यदी भारतीय टिमले धवनबाहेक फेरी नयाँ कप्तान पाएमा श्रीलंकाको नाममा रहेको यो कीर्तिमान तोड्ने छ ।

यसअघि सन् २०१७ मा श्रीलंकाले एक वर्षको अवधिमा सात कप्तान परिवर्तन गरेको थियो । यसबाहेक क्रिकेट इतिहासमा जिम्बावे, इङ्ल्यान्ड र अस्ट्रेलियाले एक क्यालेन्डर वर्षमा ६ कप्तानको प्रयोग गरेका छन् ।

वर्षको सुरुआतमा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलामा विराट कोहलीले भारतीय टिमको कप्तानी सम्हालेका थिए । यसैको तेस्रो टेस्टमा कोहली अनुपस्थित हुँदा लोकेश राहुलले कप्तानी पाएका थिए ।

कोहलीले जिम्मेवारी छोडेपछि रोहित शर्माले कप्तानी सम्हालेका थिए । यसपछि क्रमशः ऋषभ पन्त, हार्दिक पन्ड्या, जसप्रित बुमराहले भारतीय टिमको कप्तानी सम्हाले । हाल वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टिमको कप्तानी धवनले पाएका हुन् ।