एकदिवसीय क्रिकेट

क्रिकेटको एकदिवसीय संरचना बन्द गरिनुपर्ने पूर्व पाकिस्तानी क्रिकेटरको टिप्पणी

इस्लामबाद । पाकिस्तानका पूर्व क्रिकेटर वसिम अक्रमले एकदिवसीय क्रिकेट अबदेखि बन्द गरिनुपर्ने टिप्पणी गरेका छन् ।

अक्रमले क्रिकेटमा एकदिवसीय संरचना पुरानो भएकोले यसलाई पूर्ण रुपमा बन्द गरिनुपर्ने बताएका हुन् ।

यसअघि भारतीय टिमका पूर्व मुख्य प्रशिक्षक रवि शास्त्रीले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको क्रम निकै बढिरहेको यसलाई कम गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

एकदिवसीय क्रिकेट पुरानो भयोः अकरम

‘मलाई लाग्छ कि अब एकदिवसीय क्रिकेट संरचनालाई अन्त्य गर्नुपर्छ । इङ्ल्यान्डमा दर्शक खचाखच भरिने गर्दछन्,’ अक्रमले भने, ‘तर भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका एकदिवसीय क्रिकेटमा रंगशाला खाली हुने गर्छ । नामको लागि मात्र एकदिवसीय शृंखला गरिरहेका छन् । क्रिकेटको यो संरचना अब पुरानो भइसक्यो ।’

एकदिवसीय क्रिकेट बन्द गर्नुपर्ने माग गरेका अक्रमले टेस्ट क्रिकेट भने अझै पनि उत्कृष्ट रहेको बताए ।

‘ट्वान्टी २० क्रिकेट निकै सजिलो छ । चार घण्टामा खेल समाप्त हुन्छ । ट्वान्टी २० र टेस्ट आधुनिक क्रिकेटको हिस्सा हुन् । एकदिवसीय क्रिकेट चाडै नै समाप्त हुनेछ,’ अक्रमले भने, ‘टेस्ट क्रिकेटमा युद्धभित्र पनि युद्ध हुने गर्दछ । मेरो आकर्षण पनि टेस्ट क्रिकेट नै हो । एकदिवसीय रमाइलो हुने भए पनि टेस्ट कुनै पनि खेलाडीको पहिचान हुने गर्दछ ।’