नेपाल प्रो– क्लब ट्वान्टी २० च्याम्पियनसिप

ट्यालेन्ट हन्टमाथि आर्मी आठ विकेटले विजयी

भैरहवा । अस्ट्रेलियन क्रिकेटर शेन वार्नको स्मृतिमा आयोजित नेपाल प्रो क्लब ट्वान्टी २० च्याम्पियनसिपअन्तर्गत आइतबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई आठ विकेटले पराजित गरेको छ ।

भैरहवाको सिदार्थनगरमा सम्पन्न खेलमा ट्यालेन्ट हन्टले दिएको ९७ रनको लक्ष्य आर्मीले १४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

आर्मीको जितमा रोहितकुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । उनले २६ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । यस्तै, हरि चौहानले २५ र भिम सार्कीले १४ रन जोडे ।

ट्यालेन्ट हन्टका एमडी उमर र सन्दीप कुमारले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको ट्यालेन्ट हन्टले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९६ रनको योगफल तयार गरेको थियो ।

ट्यालेन्ट हन्टका अबिदुर कैफले सर्वाधिक २३ रन बनाए । यसबाहेक, उत्तम मगरले १६, कप्तान मोहम्मद मोसर्रफले १५ र एमडी उमरले १३ रन जोडे ।

आर्मीका कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेको उनले १६ रन खर्चिए । यस्तै, सुसन भारी र सोमपाल कामीले समान दुई विकेट लिँदा साहब आलमले एक विकेट हात पारे ।