आइसिसी महिला विश्वकप

महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियालाई

क्राइस्टचर्च । फाइलनमा इङ्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलियाले महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । अस्ट्रेलियाले सातौं पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको हो ।

आइतबार क्राइस्टचर्चमा सम्पन्न फाइनलमा अस्ट्रेलियाले दिएको तीन सय ५७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ४३.३ ओभरमा सबै विकेट गुमाउनुअघि दुई सय ८५ रनमात्र बनाउन सक्यो ।

इङ्ल्यान्डका न्याट सिभेरले एक सय ४८ रनको सतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकिनन् । उनले एक सय २१ बलमा १५ चौका र एक छक्का प्रहार गरेकी थिइन् । यसबाहेक, ट्यामी बोउमनले २७, सोफिया डंकलीले २२ चार्ली डिनले २१ र एमी जोनेसले २० रन बनाइन् ।

इङ्ल्यान्डलाई सस्तैमा रोक्न अलना किङ्स र जेस जोनासनले समान तीन विकेट लिए । यस्तै, मेगन सुटले दुई विकेट लिदाँ अर्को एक विकेट अस्लेघ गार्डनरको नाममा रह्यो ।

यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय ५६ रनको विशाल योगफल खडा गरेको थियो ।

अस्ट्रेलियाकी ओपनर एलिसा हेलीले एक सय ७० रनको सानदार इनिङ खेलेकी थिइन् । एक सय ३८ बलको सामना गरेकी हेलीले २६ चौका प्रहार गरेकी थिइन् । यसबाहेक, अस्ट्रेलियाको खातामा रेचल हेन्सले ६८ र बेथ मुनीले ६२ रन थपेका थिए ।

इङ्ल्यान्डका एन्या स्रुबसोलले तीन र सोफिया एक्लस्टोनले एक विकेट लिएकी थिइन् ।