कोशी प्रदेश ट्रफी

कोशी प्रदेश ट्रफीः सुदुरपश्चिम र आर्मीको जित

सुदूरपश्चिम र पुलिस भिड्दै

विराटनगर । कोशी प्रदेश ट्रफी पेप्सी नेसनल राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगितामा शुक्रबार सुदूरपश्चिम प्रदेश र विभागीय टोली त्रिभुवन  आर्मी क्लब विजयी भएका छन् । 

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा पहिलो खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५२ रनले पराजित गर्यो । जितसँगै सुदुरपश्चिम तीन खेलमा खेलमा चार अंकको साथ दोस्रो स्थानमा उक्लिएको छ ।

सुदूरपश्चिमले प्रस्तुत गरेको १८४ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १३१ रन मात्र बनाउन सक्यो । पुलिसका शंकर राना ६२ बलमा नौ चौका र पाँच छक्काको मद्दतले अविजित ९१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन । यसैगरी अभिशेक कार्कीले २० बनाए ।

सुदूरपश्चिमका लागि दिपक चन्द र शेर मल्लले समान दुई र नारायण जोशीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाई १८३ रनको योगफल तयार पार्यो । 

सुदुपश्चिमका लागि अभिशेक पालले ३९ बलमा सात चौका र दुई २ छक्काको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए । नारायण जोशीले विस्फोटन ब्याटिङ गर्दै १२ बलमा ६ छक्काको मद्दतले ४० र  किरण ठगुन्नाले ३० रन बनाए ।  

पुलिसका लागि शरद भेषवाकरले तीन र मन्जित श्रेष्ठले दुई विकेट लिए ।

सुदूरपश्चिम र पुलिस भिड्दै

दोस्रो खेलमा आर्मीले कर्णाली प्रदेशलाई आठ रनले हरायो । आर्मीले प्रस्तुत गरेको १४१ को लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि दिपेन्द्र रावतले अविजित ४७, रविन्द्र शाहीले २२ रन र विपिन रावतले १८ रनको योगदान दिए ।

आर्मीका लागि  नितेश पटेलले दुई तथा तिर्थराज दास, पवन कार्की, शहाब अलाम र बसिर अहमदले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४० रनको योगफल तयार पार्यो ।

आर्मीका लागि बसिर अहमदले ३८ बलमा  समान दुई चौका र छक्काको मद्दतले सर्वाधिक ४२ रनको योगदान दिए । यसैगरी सन्दिप रजालीले अविजित ४१ र सन्तोष कार्कीले ३४ रन बनाए ।

कर्णलीका प्रकाश जैसीले दुई तथा दिनेश अधिकारी र दिपेन्द्र रावतले समान एक विकेट लिए ।

शनिबार कर्णाली र एपिएफ र तथा बागमती र लुम्बिनी प्रतिस्पर्धा गर्नेछन् ।