ट्वान्टी २० विश्वकप

'गर वा मर' को स्थितीमा भारत

दुबई । आइसीसी ट्वान्टी२० विश्वकप क्रिकेट अन्गर्गत बुधबार आफ्नो तेस्रो खेलमा अफगानिस्तानको सामना गर्दा भारत जितका साथ सेमिफाइनल प्रवेश सम्भावना जीवित राख्न चाहन्छ ।

‘ग्रुग टु’ मा चार खेलमा चार जितपछि आठ अंक जोड्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरिसकेको छ । तीन खेलमा ४ अंक जोडेको अफगानिस्तान दोस्रो स्थानमा छ भने दुई खेलमा दुई अंकसहित न्युजिल्यान्ड तेस्रो र तीन खेलमा दुई अंक जोडेको नामिबिया चौथौ स्थानमा छ । 

पाँचौ स्थानको भारत र छैटौ स्थानको स्कटल्यान्डले अंक खाता खोल्न सकेको छैन ।

पहिलो खेलमा पाकिस्तानलाई १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डलाई आठ विकेटको नतिजा सुम्पिएको भारतले आज अफगानिस्तानसँग पराजित भएमा विराट कोहोलीको टोलीको विश्वकप यात्रा समूह चरणमा सीमित हुनेछ । 

जसका कारण स्कटल्यान्ड र नामिबियाविरुद्ध हुने खेल भारतका लागि औपचारिकतमा मात्र सीमित बन्नेछ ।
यता भारतलाई हराएमा अफगानिस्तानको भने सेमिफाइनल प्रवेश सम्भावना बलियो बन्नेछ ।

खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

यसअघि बुधबार हुने पहिलो खेलमा न्युजिल्यान्डले स्कटल्यान्डको सामना गर्दैछ । 

पहिलो खेलमा पाकिस्तानसँग पराजित न्युजिल्यान्डले दोस्रो खेलमा भारतलाई हराउँदै सेमिफाइनल प्रवेश सम्भावना जीवित राखेको थियो ।