आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः न्युजिल्यान्डको विजयी यात्रा चौथो खेलसम्म पनि जारी

काठमाडौं । अफगानिस्तनमाथि १ सय ४९ रनको सानदार जित निकाल्दै न्युजिल्यान्डले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।

जितसँगै चार खेलमा आठ अंक जोडेको न्युजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ । तेस्रो पराजय व्यहोरेको अफगानिस्तानको समान खेलबाट दुई अंक छ ।

चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा बुधबार न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा १ सय ३९ रनमै समेटियो ।

अफगानिस्तानका लागि रहमल शाहले ३६, अज्मतुल्लाह ओमजाइले २७, इक्रम अलीखिलीले अविजित १९, इब्राहिम जाद्रनले १४ र रहमानुल्लाह गुर्बाजले ११ रन बनाए ।

न्युजिल्यान्डका लागि मिचेल स्यान्टनर र लोकी फर्गुसनले समान तीन, ट्रेन्ट बोल्टले दुई तथा म्याट हेनरी र रचिन रविन्द्रले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यन्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले ८० बलमा समान चार चौका र छक्काको मद्दतले सर्वाधिक ७१ रनको योगदान गरे । यसैगरी कप्तान टोम लाथमले ७४ बलमा तीन चौका र दुई छक्काको मद्दतले ६८, विल योङ्गले ६४ बलमा चार चौका र तीन छक्काको मद्दतले ५०, रचिन रन्द्रिले ३२, मार्क च्याम्पम्यानले अविजित २५ र डिभोन कोन्वेले २० रन बनाए ।

पाँचौं विकेटका लागि फिलिप्स र लाथमले १ सय ४४ तथा दोस्रो विकेटका लागि योड्ग र रविन्द्रले ७९ रनको साझेदारी गरे ।

अफगानिस्तानका लागि नविन उल हक र अज्मतुल्लाह ओमजाइले समान दुई तथा मुजिब उर रहमान र राशिद खानले समान एक विकट लिए ।