आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

काठमाडौं । अस्ट्रेलियालाई १ सय ३४ रनले स्तब्ध बनाउँदै दक्षिण अफ्रिकाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा लगातार दोस्रो जित निकालेको छ ।

जितसँगै दक्षिण अफ्रिकाले २ खेलमा ४ अंक जोडेको छ । दुवै खेलमा पराजित अस्ट्रेलिया अंकविहिन छ ।

लखाउस्थित एकान क्रिकेट रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय १२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४०.५ ओभरमा १ सय ७७ रनमै समेटियो ।

अस्ट्रेलियाका लागि मार्नुस लाबुसेनले ४६, मिचेल स्टार्चले २७, कप्तान प्याट कमिन्सले २२, स्टिभ स्मिथले १९, डेविड वार्नरले १३ र एडम जाम्पाले अविजित ११ रन बनाए ।

सातौं विकेटका लागि लाबुसेन र स्टार्चले ६९ रनको साझेदारी गरे ।

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३, तबजेज शाम्सी, केशव महारजे र मार्को जेनसनले समान २ र लुङ्गी एनगिडीले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले  निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ११ रनको योगफल तयार पारेको थियो ।

दक्षिण अफ्रिकाका लागि क्विनटन डिककले १ सय ६ बलमा ८ चौका र ५ छक्काको मद्दतले १ सय ९ रनको योगदान गरे । यसैगरी एडेन मार्करमले ४४ बलमा ७ चौका र १ छक्काको मद्दतले ५६, कप्तान टेम्बा बाभुमाले ३५, हेनरिच क्लासेनले २९,  रस्सी भान डेर डुसेन र मार्को जेनसनले समान २६ र डेविड मिलरले १७ रन बनाए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्च र ग्लेन म्याक्सवेलले समान २ तथा जोश हेजउड, प्याट कमिन्स र एडम जाम्पाले समान १ विकेट लिए ।

डिककले पहिलो विकेटका लागि बाभुमासँग १ सय ८, दोस्रो विकेटका लागि डुसेनसँग ५० तथा चौथो विकेटका लागि मार्करम र क्लासेनले ६६ रनको साझेदारी गरे ।

पहिला खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ रनले पराजित गर्दा अस्ट्रेलिया भारतसँग ६ विकेटले स्तब्ध बनेको थियो ।