आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः पाकिस्तानको सुखद सुरुआत

काठमाडौं । नेदरल्यान्ड्सविरुद्ध ८१ रनको सहज जितका साथ पाकिस्तानले आइसिसी एकदिवसीय विश्वकपमा सुखद सुरुआत गरेको छ ।

भारतको हैदराबादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार पाकिस्तानले प्रस्तुत गरेको २ सय ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४१ ओभरमा २ सय ५ रनमा समेटियो ।

 नेदरल्यान्ड्सका लागि बास डि लिडेले ६८ बलमा ६ चौका र २ छक्काको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी विक्रमजित सिंहले ६७ बलमा ४ चौका र १ छक्काको मद्दतले ५२, लोगन भान बिकले अविजित २८, कोलिन अकरम्यानले १७ र सकिब जुल्फिकरले १० रन बनाए ।

तेस्रो विकेटका लागि लिडे र सिंहले ७० रनको साझेदारी गरेका थिए ।

पाकिस्तानका लागि हरिस रौफले ३, हसन अलिले २ तथा शाहिन शाह अफ्रिदी, इफ्तिखर अहमद, मोहम्मद निवाज र शादब खानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८६ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका साउद साकिल र मोहम्मद रिजवानले समान ६८ रन बनाए । सकिलले ५२ बलमा ९ चौका र १ छक्का तथा रिजवानले  ७५ बलमा ८ चौका प्रहार गरे ।

यसैगरी मोहम्मद नवाजले २९, शादब खानले ३२, हरिस रौफ १६, इमाम उल हकले १५ शाहिन शाह अफ्रिदीले अविजित १३ र फखर जमानले १२ रन जोडे ।

सकिल र रिजवानले चौथो विकेटका लागि १ सय २० रनको साझेदारी गरेका थिए । यसैगरी सातौ विकेटका लागि नवाज र खानले ६४ रनको साझेदारी गरे ।

  नेदरल्यान्ड्सका लागि बास डि लिडेले ४, कोलिन अक्रमले २ तथा आर्यन दत्त, लोगन भान विक र पाउल भान मिकेरेनले समान १ विकेट लिए ।