ट्वान्टी-२० शृंखला

हङकङले दियो नेपाललाई १ सय २ रनको लक्ष्य

काठमाडौं । चार देशसम्मिलित ट्वान्टी-२० शृंखलाको फाइनलमा हङकङले नेपालसामू १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बायोमास रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय १ रनको योगफल तयार पारेको थियो ।

हङकङका लागि का इङ चानले २९ र मारिना ल्याम्पलोले १९, शान्जिन शहजादले अविजित १४ र इक्रा सहरले अविजित १० रज बनाए ।

नेपालका लागि खुसी डंगोलले तीन तथा कविता जोशी र अस्मिना कर्माचार्यले समान एक विकेट लिए ।

शृंखलाको लिग चरणमा नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेका हुन् ।

पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको नेपालले मलेसियासँग ६ विकेटको पराजय ब्यहोरेको थियो ।

नेपालसँग पराजित हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले पराजित गरेको थियो ।

यसैगरी कुवेतलाई ३५ रनले पराजित गर्दै  आयोजक मलेसियाले तेस्रो स्थान हासिल गरेको छ ।

आइसीसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटअघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देशसम्मिलित शृंखला खेलिरहेका छन् ।