अल फोर बल

‘अल फोर बल’ र रोयलको सहकार्यमा निःशुल्क बास्केटबल प्रशिक्षण शिविर सुरु

काठमाडौं । रोयल सेन्ट्रल बास्केटबल सानोगाउँमा शनिबार निःशुल्क युवा बास्केटबल प्रशिक्षण शिविरको उद्घाटन भएको छ ।

ग्रासरुट बास्केटबलको विकाश गर्ने र खेलकुदमार्फत युवाहरूलाई सशक्तिकरण गर्ने उदेश्यका साथ रोयल सेन्ट्रल बास्केटबल र ‘अल फोर बल’ को सहकार्यमा यो शिविरको सुरुआत गरिएको हो ।

शिविरमा ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुलाई निःशुल्क बास्केटबल तालिम दिइनेछ । उनीहरुलाई वर्तमान पुरुष राष्ट्रिय बास्केटबल सहायक प्रशिक्षक नृपेश श्रेष्ठ र स्टार खेलाडी विनोद महर्जनले प्रशिक्षण दिनेछन् ।

शिविरमा पाँच सरकारी विद्यालयका करिब ८० जनाले नाम दर्ता गराएका छन् । यो नमुना कार्यक्रम ६ महिनासम्म सञ्चालन हुनेछ ।

अनौपचारिक रुपमा ५ वर्षअगाडि सुरु भएको ‘अल फोर बल’ सन् २०२१ अक्टोबर २१ मा औपचारिक रूपमा स्थापना भएको हो ।‘सबै युवाका लागि खेलकुद’ भन्ने मूल नारा रहेको यस संस्थाको मुख्य उद्देश्य भनेकै खेलकुदमार्फत युवा नेतृत्वको विकास होस् भन्ने हो ।

संस्थाले हाल बास्केटबल, फुटबलको निःशुल्क रूपमा प्रशिक्षण गराउँदै आएको छ ।