नेपाली क्रिकेट

पाकिस्तान पुगेर देसाइ भन्छन्ः भारत र पाकिस्तानसँग खेल्न पाउनु ठूलो अवसर हो

काठमाडौं । नेपाली क्रिकेट टोली एसिया कपको अन्तिम तयारीका लागि पाकिस्तान पुगेको छ । बुधबार पाकिस्तान पुगेको टोलीले बिहिबारबाट कराँचीमा प्रशिक्षण पनि सुरु गरिसकेको छ ।

कराँचीमा पत्रकारसँग कुराकानी गर्दै नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले भारत र पाकिस्तानसँग खेल्न पाउनु ठूलो अवसर रहेको बताएका हुन् ।

‘भारत र पाकिस्तान जस्ता टोलीसँग खेल्न पाउनु हाम्रा लाग ठूलो अवसर हो । नेपाली टोली योग्य भएर नै यो स्थानमा छ । मलाई थाहा छ नतिजा हाम्रो पक्षमा आउने छैन । तर टोलीमा युवा खेलाडी छन् । उनीहरुले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छु,’ देसाइले भने,‘ यहाँको व्यवस्थापन र सुबिधा राम्रो लाग्यो । पहिलो दिनको अभ्यास उत्कृष्ट रह्यो ।’

पाकिस्तानी संञ्चार माध्यम समा न्युजका अनुसार नेपाली टोलीले भदौ ९ सम्म कराँचीमा प्रशिक्षण गर्नेछ। त्यहाँ स्थानीय टोलीसँग अभ्यास खेल खेल्नेछ ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै छ । नेपाली टोली भदौ १० गते मुल्तान पुग्नेछ। नेपाल र पाकिस्तानबीचको एसिया कपको पहिलो खेल भदौ १३ मा मुल्तानमा हुनेछ ।

भारत र पाकिस्तानको राजनीतिका तनावका कारण एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरू श्रीलंकामा हुँदैछन् ।

नेपाल समूह चरणको दोस्रो खेल खेल्न भने पाकिस्तानबाट श्रीलंका पुग्नेछ। नेपालले दोस्रो खेलमा भारतविरुद्ध भदौ १८ मा खेल्नेछ ।